ललितपुर खबर
२७ चैत ०७७, वागडोल । केही दिनअघि ललितपुरको वागडोलस्थित मल पोखरीमा आकृती केसीले ‘भेटेर तिमीलाई’ शिर्षकको गीतमा टिकटक बनाएर सामाजिक सञ्जालमा राखिन् । त्यसको भोलिपल्ट पुगिन् शर्मिला थिङ्ग टकटक बनाउन । उनले टिकटक राखेपछि सामाजिक सञ्जाल झन् तातिएको बताउछिन् । भन्छिन्, ‘भिडियो बनाउदा रमाइलै लागेको थियो । तर अहिले पो डर लाग्छ त ।’
निरन्तर टिक टक आउन थालेपछि मल पोखरीमा युट्युवर पुग्न थाले । मलपोखरीमा टिकटक बनाउने र हेर्नेको ताँती लाग्यो ।
विहीबार र शुक्रबार पनि मल पोखरीमा टिकटक प्रेमी र युट्युवरहरुको भीड नै लाग्यो । तर मल पोखरीमा दुर्घटनाको त्रास बढेपछि वडा कार्यालय र प्रहरीको सक्रियतामा निषेधित क्षेत्रको बोर्ड राखिएको छ ।
यहाँ हरेक दिन विहान छ बजेदेखि नै भीड लाग्ने गरेको स्थानीय प्रविना राई बताउछिन् । ‘यो ठाँउबारे सबैलाई थाहा भइसक्यो प्रहरीले ड्युटी नबसी मल पोखरीमा भीड नरोकिदैन ।’
धोविधाटमा बस्ने विन्दु बस्नेत यो पोखरीमा केही बर्षअघि पानीहाँस मार्ने क्रममा एक जना डुवेको सम्झदै भन्छिन्, ‘यसरी हेलचेक्राई गरे फेरि दुर्घटना हुन्छ ।’
उनका अनुसार केही बर्षअघि शिवरात्रीमा भाङ खाएर प्रवेश गरेका अर्का पुरुष पनि पोखरीमा मृत फेला परेका थिए ।
वागडोलकै स्थानीय जगतबहादुर लामा मल पोखरीमाथि गाई चर्ने गरेको बताउछन् । स्थानीय किसानको घाँस काट्ने गाई भैसी चराउने ठाँउ भएकाले यहाँ कसैले रोक्न नसक्ने लामाको तर्क छ । केही समयअघि पोखरीमा गाई डुवेको सम्झदै लामा भन्छन्, ‘खतरा त छ तर हामीलाई केही हुँदैन ।’
वागडोलका ज्ञानबहादुर तामाङ्ग आफ्नो जग्गा मल पोखरी बनाउन अधिकरणमा परेको बताउछन् । भन्छन्, ‘हामीले कमाएको जग्गा हो । थोरै पैसा पाएका थियो ।’
मल पोखरीको दलदल खतरनाक रहेको कुमारी थापामगरले बताइन् भनिन्,‘मनिङ वाक गर्दा छोटो बाटो हिड्ने क्रममा म झण्डै डुवेको थिए । अहिले जाँन डर लाग्छ ।’
गत बुधबार पनि ललितपुर महानगरको ४ नम्बर वडा कार्यालयले पोखरीमा नजान माइमिङ्ग गरेको थियो ।
२०३३ सालमा काठमाडौं उपत्यकाको ढल व्यवस्थापनका लागि सरकारले स्थानीय बासिन्दाको जग्गा अधिकरण गरेर मल पोखरी बनाएको थियो । काठमाडौंको ढल यहाँ बनाइएको ४ वटा पोखरीमा जम्मा हुने गरेको थियो । फोहोर पानी यी चार वटा पोखरीमा थिग्रिएपछि अहिले सोलार प्यानल राखिएको ठाँउबाट वागमतीबाट बगेर जाने गरेको प्रत्यक्षदर्शी स्थानीय बताउछन् । अन्य पोखरी सुके पनि अहिले एउटा मात्रै पोखरी बाँकी छ । एउटा पोखरीमा सोलार प्यानल बनाइएको छ । अर्को पोखरीमा चिनियाँ सरकारको सहयोगमा पानी प्रशोधन केन्द्र बनिरहेको छ ।
कसरी मिल्छ पानीमाथि हिड्न
करिव ४० वर्ष अघि जमाइएको काठमाडौं उपत्यकाको ढलमाथि विस्तारै झार उम्रियो । झारले माटो समात्यो । त्यही जरा र माटो मिलेर पोखरी छोपिदै गयो । यहाँ गाई चर्न थाले । मान्छे जान थाले । तर यो ठाँउ हिड्दा लच्कने गर्थै । यही लचकदार जमिनमा भिडियो खिचेर टिकटकमा राखेपछि भाइरल बन्दै गयो ।
कसरी जान सकिन्छ मल पोखरीमा
मल पोखरी वरपर पानी देखिन्छ । नजिकै दलदल पनि भएकाले फस्ने डर हुने नै भयो ।
मलपोखरीको बीचमा ढल रखिएको छ । यही ढल टेकेर टिकटक बनाउनेहरु मलपोखरीको बीचमा पुग्छन् । एक स्थानीयका अनुसार नजिकै धेरै लचकदार जमिन छ । तर अलि पर कम खतरनाक लाग्ने ठाँउ भेट्न सकिन्छ ।
स्थानीय आक्रोसित
टकटक बनाउनेको भीड बढेपछि प्रशासनले मल पोखरीमा जान रोक लगाएपछि केही स्थानीय आक्रोसित छन् । एक स्थानीयका अनुसार दैनिक घाँस काट्न र गाई बाख्रा चराउने गरेका किसान पोखरीमा जान नपाएपछि आक्रोसित भएका हुन् । बागडोलमा भेटिएका एक किसानले भने, ‘हामी गाई चराउन अव कशाँ जानु हिउँद याममा घाँस पाइदैन । हाम्रा गाई अव मर्ने भए ।’
मल पोखरीको इतिहास
मल पोखरी २०३३ सालमा राजधानीको ढल व्यवस्थापनका लागि अधिकरण गरिएको स्थानीयबासी बताउछन् । उनीहरका अनुसार त्यसताका प्रतिरोपनी ५ हजार मुआव्जा दिएर जग्गा सरकारले लिएको थियो । घर लगायतका संरचनाको मुआव्जा भने ज्यादै थारै दिएकाको सथानीयहरुको गुनासो छ ।
त्यसअघिसम्म यहाँ हरियाली फाँट थियो । यहाँ धान मकैजस्तै अन्नबाली राम्रो फल्थ्यो । मल पोखरी बनाउने सरकारी योजना भने पूर्ण रुपमा कार्यान्वयन नभई लामो समय वित्यो । वरपरका टोलबाट केही ढल राखिएको भए पनि पोखरी वरपर जडान गर्न बाँकी केही ढल अझै अलपत्र छन् ।
डा. वावुराम भट्टराई प्रधानमन्त्री भएताका यहाँ सुकुम्बासीलाई राख्ने योजना बनाएसँगै सथानीयबासीले विरोध गरेका थिए । त्यसपछि सानेपानजिकै एउटा पोखरीमा सोलार प्यानल राखियो । अर्को पोखरीमा चीन सरकारको अनुदानमा पानी प्रशोधन केन्द्र बन्दैछ । बाँकी रहेको २ पोखरीमध्ये अर्कोमा बर्षामा पानी जम्छ हिउँदमा सुक्छ । भाइरल भएको यो पोखरीमाथि माटोले छोपिएको छ । घाँस पलाएको छ ।
प्रतिक्रिया