१० भदौं ०७८, काठमाडौं । मनसुन शुरु भएयता ६० जिल्लामा पाँच हजार १ सय १८ जना बासिन्दा विस्थापित भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई महिनाको मनसुनी विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
नेपालमा यो वर्षको मनसुन भित्रिएपछि विभिन्न ६० जिल्लामा बाढीपहिरोलगयतले क्षति गरेको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको हो । यो वर्ष मनसुनका कारण हालसम्म ४ सय ५१ वटा विपदका घटना भएका छन् । बाढीका ८२ घटनामा परेर २९ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । बाढीमै परेर आठ जना घाइते भएका छन् ।
देशभर विभिन्न स्थानमा गएको १ सय ८९ पहिरोमा परी ४० जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । सोही अवधिमा पहिरोमा परेर ५८ जना घाइते भएका छन् ।
भारी वर्षाका १ सय ८२ घटनाको विवरण प्राधिकरणले राखेको छ । वर्षाकै कारण पाँच जनाको मृत्यु र २५ जना घाइते भएको बताएको छ । यस अवधिमा चट्याङ लागेर २० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया