५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बनेपा शहर ‘सफा–सुन्दर’ नारामै सीमित



 फाइल तस्विर

राजुकमार पराजुली

२४ भदौं ०७८, बनेपा । केही दिनअघिसम्म साँझ परेपछि बनेपा नगरपालिका कार्यालयसँगैको बसपार्क, चारदोबाटो र मुख्य चोकमा फोहर फाल्नेको घुइँचो लाग्ने गर्दथ्यो । करिब एक महिनापछि उद्यान र चोकका डङ्गुर फोहर उठाएपछि अहिले नगर कार्यालय अगाडि फोहर फाल्न आउनेलाई लखेट्न केही युवा परिचालन गरिएको छ ।
बनेपाले ‘वैकल्पिक व्यवस्था नभएसम्म’ आफ्नो बाध्यता बुझिदिन स्थानीयवासीलाई आग्रह गर्दै आएको पनि बर्षौँ भइसक्यो । यी गतिविधिले नगरले आ–आफ्ना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न स्थानीय बासिन्दामा चार वर्षअघिदेखि गरेको अपिल पनि कार्यालय र सञ्चारमाध्यमको भित्तामै सीमित भएको छ । “आजभोलि त फोहर सङ्कलन हुनै छाड्यो, नगरले घरबाट निस्कने फोहर बिसर्जन गर्ने दीर्घकालीन व्यवस्था नगर्दा नगरवासी निकै मारमा परेका छन्”, स्थानीयवासी पारस श्रेष्ठले भनेका छन् ।
वर्षौँदेखि बनेपामै फोहर फल्दै आइएको स्थानमा स्थानीयवासीले रोक लगाएपछि नगरले वैकल्पिक स्थान छनोट गर्दा स्थानीयवासीकै विरोधका कारण व्यवस्थापन गर्न सकिरहेको छैन । “दीर्घकालीन स्थानको व्यवस्थापनमा लागिरहेका छौँ, केही समयपछि बनेपामा फोहरको समस्या हट्नेछ”, नगरप्रमुख लक्ष्मीनरसिंह बादेले भने । उनका अनुसार एक बर्षसम्म ठूलो खर्च गरी काठमाडौँमा समेत लगेर फोहर व्यवस्थापन गरिएको थियो ।
स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले कार्यालय, चोक र स्थानीय सञ्चारमाध्यमको भित्तामा स्थानीय बासिन्दामा आ–आफ्ना घर तथा बस्ती सफा, सुन्दर, हराभरा बनाइराख्न खर्चिलो विज्ञापन गरे । हालसम्म स्थानीय एफएममा सरसफाइका सूचना बजिरहेका छन् । सरकारको ‘सुखी नेपाली ः समृद्ध नेपाल’ महाअभियानमा सहयोग पु¥याउने उद्देश्यले काभ्रेपलाञ्चोकका नगरपालिका तथा गाउँपालिकाले स्थानीय बासिन्दामा यस्तो अपिल गर्दै आएका हुन् । तर हालसम्म पनि मुख्य बजार, बाक्लो बस्तीका चोकमा फोहरको डङ्गुरनै देखिन्छ ।
जनप्रतिनिधिका गाडी त्यही फोहरको डङ्गुर छेउबाटै दौडिरहेका देखिन्छन् । धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरका चोकमा फोहर थुपारिएका हुन्छन् भने बजारमा यत्रतत्र फोहर फलिएका छन् । गाउँपालिकाको ‘मुकाम’मा पनि फोहरको समस्या देखिन्छ । “प्रत्येक व्यक्तिले आफ्नो घर–आँगन, चोक, गल्ली तथा बस्ती सफा राख्न सक्छ, राख्नुपर्छ यसमा विशेष ध्यान दियौँ भने बस्ती सफा, सुन्दर र हराभरा हुन्छ”, पनौती नगरप्रमुख भीम न्यौपानेले भने । उहाँले आफ्ना घर वरिपरिको खाली जमिनमा तथा खेतबारीका छेउछाउमा फलफूलका बिरुवा रोप्नसमेत नगरवासीमा अनुरोध गर्दै आएका छन् ।
स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिको एउटै प्रकृतिका ‘सफा–सुन्दर’को नारा तथा सुझाव तथा अपिल छन् । घरका भान्छाबाट निस्कने फोहरलाई कुहिने र नकुहिले छुट्याएर राख्न, आफ्नो घर अगाडिको नालामा फोहर नफाल्न तथा आफैँले सधैँ सफा बनाइराख्न, बाटो, नाला, चोक, गल्ली, जताततै फोहर हुँदा घरको सुन्दरता, पानीको निकास र घुमफिर गर्ने ठाउँसमेत दुर्गन्धित हुनाले सरसफाइमा सचेत भई सचेतना गराउनसमेत स्थानीय तहले अनुरोध गर्दै आएका छन् ।
नमोबुद्ध नपाप्रमुख टङ्कप्रसाद शर्मा भन्छन्, “घरलगायत हरेक क्षेत्रको सरसफाइ गर्न स्थानीय सरकारसँगै नागरिकको पनि कर्तव्य हुन्छ, यसैले हामीले सभ्य भई सभ्यताको परिचय दिन सक्नुपर्छ”, अपिलमा सरल र सर्भसुलभरूपमा उपलब्ध हुने सिमेन्टका बोरा प्रयोग ल्याई फोहर सङ्कलन गर्ने वस्तुको उपयोग गरी बिनालगानी सरसफाइको व्यवस्थापन गर्न सकिने उपायसमेत सिकाइएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका तथा सात गाउँपालिका छन् ।
“नगरवासीले बजारबाट ल्याइने प्लाष्टिकजन्य झोला, चाउचाउको खोल तथा अन्य प्याकिङका सामग्री घरमै सङ्कलन गरी पालिकाबाट आउने फोहर सङ्कलनकर्तालाई दिने बानी बसाल्नु भन्दै आएका छौँ”, पाँचखाल नगरप्रमुख महेश खरेलले भने । उनले सामूहिकरूपमा हप्ताको एकदिन स्वयंसेवकका रूपमा सार्वजनिकस्थल, धार्मिकस्थल तथा मन्दिर, पोखरी, पर्यटकीयस्थलको सरसफाइमा समय दिन गरेको आग्रहसमेत लागू भएको पाइँदैन ।
बस्ती सुन्दर र स्वच्छ बनाइराख्न वनजङ्गलको संरक्षण गरी खाली जमिनमा वृक्षरोपण गर्न तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङ स्थानीयवासीलाई आग्रह गर्दै आएको पनि चार वर्ष नाघिसक्यो । “जथाभावी रुख नकाटी, प्राकृतिक जडीबुटीको समेत संरक्षण गर्नुपर्दछ, वनलाई आफ्नो जीवनजत्तिकै माया गर्नुपर्दछ, आफू मात्र होइन, सन्ततिलाई पनि स्वच्छ वातावरणमा बाँच्ने आधार दिनसक्नुपर्दछ”, उनी भन्छन् । गाउँपालिकाको मुकाम पोखरी नारायणस्थान बजारमा पनि फोहरको समस्या उस्तै देखिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।