११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मकर मेला: मेला नजिकिएसँगै पूर्वाधार निर्माणको काममा तीव्रता   



पनौती शहर

-पेमा लामा-
२७ मंसिर ०७८, बनेपा । पनौतीमा लाग्ने बाह्रवर्षे मकर मेलाको समयावधि नजिकीएसँगै मेलामा आउने दर्शनार्थीको सहज बनाउनका लागि आवश्यकपर्ने पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ७ र ६ को सङ्गमस्थल त्रिवेणीघाटदेखि त्यसैको ठीक माथिरहेको गोरखनाथ डाँडामा लाग्ने मकर मेलाका लागि पनौती नगरपालिकाले गठन गरेको ‘मकर मेला मूल व्यवस्थापन समिति’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको हो ।

अहिले पनौती त्रिवेणीघाट आसपासमा भक्तजनको स्नानका लागि सिँढी निर्माण, खानेपानी, आवतजावतका लागि वैकल्पिक बाटो निर्माण, शौचालय, मन्दिरको जीर्णोद्धार, सरसफाइ, प्रदेशद्धार निर्माण बाटोघाटोको व्यवस्थापनका लागि पुल मर्मत, बगैँचा निर्माणलगायतका काम गर्न कामदार निरन्तर खटिरहेका छन् । मेला व्यवस्थापन एवं संरचना निर्माणका लागि नगरपालिकाबाट रु पाँच करोड बजेट विनियोजन गरी काम भइरहेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

पुरातात्विक महत्व बोकेको मन्दिरै मन्दिरको शहर पनौतीमा १२ वर्षमा लाग्ने मकर मेलाका लागि मेला व्यवस्थापन समितिले पनौतीलाई बेहुली झैँ सिँगार्ने काम भइरहेको छ । मेलामा आउने भक्तजनलाई मेला भर्न सहज र व्यवस्थित बनाउनका लागि नगरपालिकाले मेला व्यवस्थापन समिति गठन गर्नेदेखि सम्बन्धित वडाले पनि आफ्नो वडाभित्र हुने मेलाका लागि गर्नुपर्ने आवश्यक व्यवस्थापनमा लागिरहेको जनाएको छ ।

नगरपालिकाले पूर्वाधार निर्माणको कामअन्तर्गत यसअघि नै पुण्यमाता र रोशी खोला गरी तीन वटा बेलीब्रिज निर्माण गरिसकेको छ भने अन्य पूर्वाधारको कामलाई थप तीव्रता दिएको वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार आवश्यक पूर्वाधार निर्माणको काम आउँदो पुस २०÷२५ गतेभित्रमा सकाउने योजनाका साथ काम अघि बढिरहेको छ ।

“विशेषगरी स्नानका लागि पुन्यामाता खोला र रोशी खोलामा स्वच्छ पानी जमाएर व्यस्थित गर्नका लागि दुवै खोलाको सङ्गमस्थलमा बाँध निर्माणको काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो, “मेलाका लागि मुख्य स्थान त्रिवेणीघाट प्रवेश गर्ने नाका करिब १०÷१२ स्थानमा प्रमुख प्रवेशद्वार निर्माण भइरहेको छ भने थप स्थानमा आवश्यकताअनुसारको प्रवेशद्वार निर्माण भइरहेको छ ।”

दर्शनका लागि आउने भक्तजनले मन्दिरै मन्दिरको शहर पनौतीमा यहाँका सबै सांस्कृतिक महत्व झल्कने ‘पनौती सङ्ग्रहालय’ अवलोकन गर्ने व्यवस्था गर्नुका साथै स्थानीय परिकारमा पनौतीमा परिचित योमरीलगायत स्थानीयस्तरमा उत्पादन हुने घरेलु सामग्रीसमेत पनौतीको चिनोका रुपमा लान पाउने गरी विभिन्न कक्षको व्यवस्थापन गर्ने काम भइरहेको जनाएको छ ।

पनौती नगरपालिका प्रमुख एवं मेला मूल व्यवस्थापन समितिका संयोजक भीम न्यौपानेले मेला व्यवस्थापनका लागि आवश्यक पर्ने २५ वटा योजना सम्पन्न गर्ने क्रममा आवश्यक काम तव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो ।

“हामीले त्यसका लागि आवश्यक पूर्वाधारको कामसँगै मेलाका बारेमा थप प्रचारप्रसारका लागि सामग्री निर्माण तथा उत्पादन गर्ने काम जस्तै पर्चा, हाते पुस्तिका, अडियो गीत, भिडियो, ब्याच, स्टीकर निर्माणका लागि आवश्यक पहल भइरहेको छ”, उहाँले भन्नुभयो । त्यसबाहेक नगरभित्रका विद्यालयमा विद्यार्थीबीच मकर मेलासम्बन्धी विभिन्न ज्ञानवद्र्धक हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगितालगायत कामसमेत भइरहेको छ ।

त्यससँगै मेलामा आउने भक्तजनले प्रयोग गर्ने सवारी साधन पार्किङका लागि नगरपालिका वडा नं ६ मा रहेको प्रहरी प्रतिष्ठानको जग्गामा ठूला सवारी साधनको व्यवस्था मिलाउने काम भइरहेको र साना सवारी साधनका लागि बजार क्षेत्र नजिकैका स्थानमा जग्गा भाडामा लिएर आवश्यक व्यवस्थापनको तयारीसमेत भइरहेको नगरपालिकाले जनाएको छ ।

माघ महिनाभरि लाग्ने मेला अवधिभर बजार क्षेत्रमा आवतजावत गर्न सहज बनाउने योजनासहित मुख्य बजार क्षेत्रको एक किलोमिटर टाढा नै सवारी साधन पार्किङको व्यवस्थापन गरेर बजार क्षेत्रलाई खुला बनाउने योजनामा नगरपालिका रहेको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

प्रत्येक १२ वर्षमा मकर सङ्क्रान्तिका दिनदेखि एक महिनासम्म स्नान गर्ने अवसर हो मकर मेला । सो मेलामा नेपालबाट मात्रै नभई भारतको उत्तर प्रयागबाटसमेत तीर्थालु आउने गर्दछन् । मेलाको मुख्यस्थल त्रिवेणीघाट क्षेत्र हो । त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरि पर्वत अर्थात् गोरखनाथ डाँडामा रहेको गोरखनाथलाई चढाउनले ठूलो पुण्य मिल्ने (मनोकाङ्क्षा) पूरा हुने जनविश्वास रहेको पाइन्छ ।

लीलावती (रोशी) र पुण्यमाता खोलासँगै गोरखनाथ मन्दिरको सिधा मुनि रहेको ब्रह्मायणी मन्दिरभित्रबाट बग्नेबाहेक गुप्तरूपमा ब्रह्मायणी मन्दिरको तलबाट पद्मावती नदी बगेर मिसिएको भएर त्रिवेणीघाट भनिएको हो । सो स्थलमा जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप गरिन्छ । राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्दा पनौती त्रिवेणीघाटको पनि जल ल्याइराखेको कुरा उल्लेख छ ।
रासस

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : ३५ बजे