१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्ने   



३ पुस ०७८, काठमाडौँ । काठमाडौँ गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । बसपाकस्थित मित्रनगर विकास तथा सुधार समितिको आज आयोजित १३औँ वार्षिक साधारणसभामा सहभागी वक्ताले नयाँ बसपार्क वरपर देखिएको विकृति अन्त्य भए मात्र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ बसपार्कलाई जोड्न सकिने बताएका हुन् ।    

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुख्य गन्तव्यस्थलका रुपमा नयाँ बसपार्क विकास हुँदै गएकाले मर्यादित भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे । “टोल सुधार समिति क्रियाशील भएमात्र वडा बलियो हुन्छ, क्रियाशील समिति बनाउनका लागि सफल, सक्षम र विकासप्रेमी नेतृत्व आवश्यक हुन्छ”, उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं समाज उत्थान महिला मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले शान्त, सुरक्षित र सभ्य नयाँबसपार्क निर्माण गर्न गोँगबु क्षेत्रमा देखिएको विकृति र विसङ्गति अन्त्य हुनुपर्ने बताइन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पछिल्लो समय नयाँ बसपार्क सुन्दर, सफा र व्यवस्थित बन्दै गएको र त्यस वरपरको क्षेत्रलाई पनि सोहीअनुसारको बनाउनु सबैको कर्तव्य भएको बताए ।  मित्रनगर टोल विकास समितिका अध्यक्ष विष्णुप्रसाद पोखरेल, समितिका प्रथम उपाध्यक्ष गङ्गा पन्त, नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष दिपेन सुवेदी, काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पद्म योङहाङ, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष वीरबहादुर खतिवडालगायतले यस क्षेत्रको विकृति अन्त्यका लागि सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : ०८ बजे