१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जम्बोडाँडामा लुकिछिपी थुपारिएको फोहर उठाइयो



गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित वाग्मती नदी किनारको जम्बोडाँडामा थुप्रिएको फोहर शनिबार उठाएर व्यवस्थापन गरिँदै । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस

२४ पुस ०७८, काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मती नदी किनारको जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहरको थुप्रो सफा गरिएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ४१९ औँ हप्तामा त्यस क्षेत्रमा सफा गरी नदी किनारमा थुपारिएको तीन गाडी फोहर व्यवस्थापन गरिएको हो ।
वाग्मती सुन्दरता सरकोर मञ्चको आयोजनामा भएको सफाइमा त्यस क्षेत्रका विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्यलगायत स्थानीयवासीको सहभागिता थियो । जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहर यसपटकसमेत गरी मञ्चको नेतृत्वमा १२औँ पटक सफा गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

सफाइका क्रममा ९५ प्रतिशत कुहिने फोहर लुकिछिपी फालिएको भेटिएको थियो । पाँच प्रतिशतमात्र नकुहिने फोहर पाइएको जनाइएको छ । फोहरलाई घरमै वर्गीकरण गरे कौसीखेतीमा उपयोग गर्न सकिने भए पनि चेतनाको अभावमा सडक र नदी किनारमा फालेर दुर्गन्धित बनाइएको छ । नदी किनारमा प्लाष्टिक बालेर वायु प्रदूषण बनाउने क्रम बढ्न थालेको छ । फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने अधिकार नगरपालिका र प्रहरीलाई भए पनि अहिलेसम्म कार्यान्वयन नगर्दा सडक, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहरको थुप्रो बढ्दै आएको छ ।

आजको सफाइपछि जम्बोडाँडा क्षेत्रमा वडाले सिसिटिभी क्यामेरा जडान गर्ने तयारी गरेको जानकारी पनि दिइएको छ । सिसीटिभीसँगै प्रहरी र नगर प्रहरीसमेत राखेर लुकिछिपी फोहर फाल्नेलाई समातेर कानूनी कारबाही गर्ने तयारी गरिएको पनि त्यहाँका वडाध्यक्ष नारायणबहादुरसुवेदीले बताए ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ३ : १५ बजे