१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नख्खु खोलामा ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास



२५ पुस ०७८, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छन् । उनले ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको सो मुहानको आइतवार उद्घाटन गरेको हो ।

ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्षअघिदेखि सञ्चालनमा आएको स्थानीय बताउँछन् । सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकामा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर गरिँदै आएको छ । स्थानीय कृषकको मागलाई मध्यनगर गर्दै आवश्यकता र पहिचानका आधारमा चालू आर्थिक वर्षमा मन्त्रालयले मुहान संरक्षणका लागि रु एक करोड ३२ लाख र नहर निर्माणका लागि रु ४० लाख विनियोजन गरेको थियो ।

कुलोको मुहान शिलान्यास गर्दै मन्त्री भुसालले ऊर्वराभूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्नेभन्दा पनि उर्वरा जमिनबाट कृषि उत्पादन गरी त्यहीबाट आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरे । सामूहिक खेती गरेर उत्पादकत्व वृद्धितर्फ लाग्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भने ‘हामी सबै मिलेर सामूहिक खेती गरौं, म पनि खेतीमा सामेल भएर काम गर्न चाहन्छु ।’

खोकना तेलका लागि प्रसिद्ध, सांस्कृतिक एवं कृषिका दृष्टिकोणले ऐतिहासिक रहेको उल्लेख गर्दै मन्त्री भुसालले शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन दिइन् । उनले भनिन्, ‘उपभोक्ताले कामको निरन्तर नियमन गरेर कुलोबाट जतिसक्दो धेरै फाइदा लिने गरी निर्माण गर्नुपर्छ, त्यसको आवश्यक प्रबन्ध म गर्नेछु, स्थानीयस्तरमा तपाइँहरू सक्रिय हुनुहोस् ।’

संविधानमा उल्लेख गरिएको समाजवादको यात्राका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘हामीले भनेको समाजवाद हाम्रै सीप र परिश्रमबाट आउने हो, त्यसका लागि निरन्तर सिर्जनशील भएर काम गर्नुपर्छ ।’

कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ऐतिहासिक खोकना राजकुलोको संरक्षण र सम्वद्र्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले ऐतिहासिक कुलो स्तरोन्नतिबाट खोकनावासीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै विनियोजित बजेटको सही तवरले सदुपयोग हुने बताए । कार्यक्रममा ललितपुर महानगर–२१ का वडाध्यक्ष रविन्द्र महर्जनले खोकनावासीका खेत सिञ्चित गर्नका लागि राजकुलो महत्वपूर्ण भएको र कुलो स्तरोन्नतिका लागि विनियोजित बजेटको सही सदुपयोग गरेर सिँचाइ प्रणालीमा सुधार आउने विश्वास व्यक्त गरे ।

शिलान्यास गरिएको राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैंसेपाटी र खोकनाको करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने बताए ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : ४५ बजे