१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शङ्खमूलमा महिनौँदेखि थुप्रिएको फोहर शनिबार निकालियो



ललितपुरको थापाथलीस्थित यूएन पार्कनजिकबाट देखिएको वागमती नदि ।तस्विर : ललितपुर खबर

१ माघ ०७८, काठमाडौं । वाग्मती नदीको शङ्खमूल क्षेत्रमा महिनौँदेखि थुप्रिएको फोहर निकालिएको छ । वाग्मती सफाइ महाअभियानको ४५३औँ हप्ताकोे सफाइका क्रममा आज शनिबार शङखमूल पुलमुनि थुपारिएको फोहर उठाएर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिएका छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जेसिभी प्रयोग गरेर थुपारिएको फोहर उठाएको थियो । सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । सफाइ २५÷२५ जनाको समूह बनाएर भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गरिएको थियो । पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि सजगता अपनाएर सफाइ महाअभियानलाई निरन्तरता दिइएको महाअभियानले जनाएको छ ।
सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौँ महानगरपालिका वडा नं ११ अध्यक्ष हीरालाल तण्डुकार, हनुमान मार्ग टोल सुधार समितिका अध्यक्ष दिव्यमणि ज्ञवाली, वानेश्वर महिला वातावरण सेवाका दुर्गा दुलाल, विभिन्न सङ्घसंस्था, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडाँै महानगरपालिका वातावरण विभाग टेकुका कर्मचारी एव वाग्मती सफाइ अभियानकर्मीको सक्रियता रहेको उनले बताए ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको अन्तिम दिन शनिबार बिहान दुई घण्टा निरन्तर जारी छ । चाडपर्व, चिसो, गर्मी, प्राकृतिक प्रकोप एवं कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान हुने गरेको छ । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा यसका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
गुह्येश्वरी माथिको वाग्मती सफाइ आज पनि जम्बोडाँडा क्षेत्रको नदी किनारमा गरिएको छ । त्यस क्षेत्रलाई फोहरमुक्त गर्न गत हप्तादेखि नै सफाइ अभियानलाई त्यहाँ केन्द्रित गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए । मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले मनोहरा नदी किनार क्षेत्रमा सफाइ गरेको छ । मनोहरा सफाइ अभियानको २५२औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ जडीबुटी नमूना बस्ती क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको मनोहरा सफाइ संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।
यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, चक्रपथको उत्तरी र पश्चिमी भेग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थल सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ५ : ०४ बजे