१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


माधवनारायणका बर्तालु शेषनारायणमा, बेलुका साँखु पुगेर बास बस्ने



१९ माघ ०७८, काठमाडौँ । साँखु शालिनदीस्थित माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले तीर्थयात्राका क्रममा दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा पूजा आराधना गरेका छन् ।

एक महिने व्रतमा बसेका बर्तालुले शेषनारायण मन्दिरमुनिको पोखरीमा स्नान गरी शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका हुन् । शेषनारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु मङ्गलबार साँझ शेषनारायण मन्दिर क्षेत्रमा आएर बास बसेका थिए । बिहान मन्दिर मुनिको पोखरीमा स्नान गरी शेषनारायणको पूजा आराधनासहित दर्शन गरेको बर्तालुसँगै रहेका लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले बताए ।

शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन सकेर बर्तालुले फर्पिङ बजार परिक्रमा गरेका छन् । फर्पिङबाट बर्तालु पैदल बुङमती हुँदै शङ्खमूलमा आएर भोजन गर्ने कार्यक्रम छ । भोजन सकेर पैदलै आज बेलुका साँखु पुगेर बास बस्ने गर्छन् । आज बेलुकी साँखु पुगेसँगै बर्तालुले पहिलो चरणको तीर्थयात्रा समापन गर्छन् । एक महिने व्रतमा रहेका माधवनारायणका बर्तालुले माघ शुक्ल प्रतिपदाका दिन शेषनारायणमा स्नानसहित पूजा आराधना गर्ने प्राचीन परम्परा छ ।

माघ कृष्ण चतुर्दशीदेखि नै माधवनारायणका बर्तालुले तीर्थयात्रा शुरु गरेका हुन् । माघ कृष्ण चतुर्दशीका दिन सोमबार बिहान साँखुबाट बज्रयोगिनी माईको दर्शन गरी साँखुमा आएर बर्तालुले भोजन गरेका थिए । भोजनपछि पैदल हिँडेर बर्तालु सोमबार बेलुकी पशुपति क्षेत्रमा आइपुगेका थिए । कोरोनाको तेस्रो लहर फैलिरहेकाले पशुपतिनाथमा स्वास्थ्य मापदण्ड पूरा गरेर माधवनारायणको व्रत विधि पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर माधवनारायणका बर्तालुको दर्शन विधि पूरा गर्न भने खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । प्रत्येक वर्ष माघ कृष्ण औँसीमा हुने पर्व पूजा भएकाले स्वास्थ्य मापदण्ड पूरा गरी माधव नारायणका बर्तालुलाई पशुपतिनाथ मूल मन्दिरमा दर्शन गराइएको थियो ।

माधव नारायणको व्रत बसेका बर्तालुले दोस्रो चरणको तीर्थ यात्रा माघ २१ गतेदेखि गर्नेछन् । २१ गते साँखुबाट पनौती गएर बास बस्ने छन् । माघ २२ गते बिहान त्रिवेणीघाटमा स्नान गरी त्यहाँको इन्द्रेश्वरलगायत मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम रहको छ । २२ गते दिउँसोको भोजन बनेपामा गरी साँखु आएर बास बस्ने समितिले जनाएको छ । पनौतीबाट साँखु फर्केपछि दोस्रो चरणको तीर्थ यात्रा समापन हुन्छ ।

तेस्रो चरणको तीर्थ यात्राका लागि बर्तालु माघ शुक्ल एकादशीका दिन चाँगुनारायण मन्दिर जान्छन् । द्वादशीका दिन बिहान चाँगुनारायणमा स्नान एवं पूजा आराधना गरी साँखु फर्कने परम्परा छ । चाँगुनारायाणबाट साँखु फर्केपछि तेस्रो चरणको तीर्थयात्रा पनि समापन गरिन्छ ।

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ५१ बजे