२१ फागुन ०७८, काठमाडौं । काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले आफ्नो कार्यकालमा शिलाक्याश गरेको धर्मकीर्ति महाविहारको विस्तारित भवन उदघाटन गरेका छन् ।
महानगरको वडा २५ स्थित श्रीघः, नघलमा पुननिर्माण सम्पन्न भएको भवनको मेयर शाक्यले उदघाटन गरेका हुन् । भवन पुननिर्माण गर्न २०७७ मंसिर २० गते मेयर शाक्यले शिलान्यास गरेका थिए । आज शनिबार भवन उदघाटन अवसरमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडाध्यक्ष नीलकाजी शाक्यसहित पदाधिकारी सहभागी थिए । विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा करिब १ करोड लागतमा काम भएको थियो । यस चरणमा लागेको ९९ लाख ९९ हजार १६५ रुपैयाँमध्ये १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोरेको थियो । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरको सहयोग हो ।
त्यसपछि गएको पुस १८ गते थप २ करोड १८ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको थियो ।
महानगरले २०७७ साउन महिनामा विहारको सभा कक्षलाई आवश्यक पर्ने ध्वनी र उज्यालो व्यवस्थापन गर्न ६८ थान सामान तथा उपकरण र १ रोल केबल प्रदान गरेको थियो । यसरी उपलब्ध गराइएका सामानमा साउण्ड मिस्क्चर, माइक, बेबी लाइट लगायत थिए । महानगरले उपलब्ध गराएका यी सामानको प्रयोगले प्रवचनमा आउने स्थानीयलाई प्रवचन कक्षमा बस्न, बोलेको कुरा सुन्न सजिलो भएको छ ।
भवन उदघाटन गरिसकेपछि मेयर शाक्यले, क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता गुठीले सञ्चालन गरेका सांस्कृतिक सम्पदा संरक्षण गर्न सरकार भएको महसुस गराउने प्रयास गरेको बताए । गुठी परम्परालाई जीवन्त बनाउन समुदायको कामलाई राज्यकातर्फबाट महानगरले साथ दिन्छ । यस्ता सांस्कृतिक सम्पदा पुननिर्माण गरेर सञ्चालन व्यवस्थापनका लागि हामीले गुठीलाई नै हस्तान्तरण गर्ने गरेको, गुठीको स्वामित्व र क्रियाकलापमा आफ्नो कुनै हस्तक्षेप नभएको मेयर शाक्यको भनाइ थियो ।
‘बुद्ध दर्शनको प्रवर्धनका लागि हामीले बज्रयानी, थेरवादी र महायानी विहारको पुननिर्माण तथा त्यहाँ हुने कार्यक्रमका लागि सहयोग गरिरहेका छौँ । महानगरको सहयोगमा निर्माण भएको अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रमा धम्महल भवन उदघाटन गरिसकेका छौँ । बागबजारको बुद्ध विहार पुननिर्माण भइसकेको छ । यसको उदघाटन हुँदैछ ।’ मेयर शाक्यले भने ।
कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले स्थानीय सरकार भनेको स्थानीय स्तरमा भएका सानातिना समस्या समाधान गर्न र स्थानीय पहिचान बचाउनका आवश्यक रहेको बताइन् । उनले भनिन्े, ‘सम्पदा संरक्षण गर्ने कुनै पनि योजना प्रस्तावका रुपमा आउँदा बैठकमा मतभेद हुँदेन । सर्वसम्मतले स्वीकृत गछौँ । वुद्ध दर्शनले हामीलाई विश्वभर चिनाएको छ । यो हाम्रो सम्भावना हो ।’
सम्पदाको निरन्तरताका लागि गुठीयारहरुसँग जग्गा भए काठमाडौँ महानगरपालिकाले भौतिक संरचना निर्माण गरि दिने भएकाले योजना लिएर आउन आग्रह गरेकी थिइन् ।
प्रतिक्रिया