
२१ चैत ०७८, काठमाडौं ।शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका टिकाराम शर्माले आइतबार जग्गाधनी लालपुर्जा प्राप्तिका लागि निस्सा प्राप्त गरे । राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिकाले उनको हातमा निस्सा थमाइदिँदा पनि उनको मुहारमा खुसी छाएन । निस्सा पाएकाको जग्गा नाप जाँच हुने र लाालपुर्जा दिइने भन्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला, भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी र शुक्लागण्डकीका मेयर किसान गुरुङले निस्सा बाँडेका थिए । २०३२ सालदेखि भानुमतीको थात्थलो छाडेर स्यालीबजार बसाइ झरेका उनको एउटै सपना छ( सिरानीमा लालपुर्जा च्यापेर निदाउने । नगरपालिकाले बाँडेको निस्सा हातमा हुँदा पनि लालपुर्जा पाइन्छ भन्ने झिनो आश नभएको उनले बताए ।
निस्सा पाएका सबैसँग यस्तै यस्तै आशंका थिए । ३० वैशाखमा हुन लागेको निर्वाचनको संघारमा निस्सा बाँडिएकाले भोट तान्ने उपाय हुन सक्ने आशंका गर्छन् बाबुराम सिग्देल । निस्सा थमाउँदैमा खुसी हुने अवस्था नरहेको उनले सुनाए । पटक पटक लालपुर्जा दिन्छौँ भनेर ढाटिएकाले निस्सा बाँँड्दा पनि आश नपलाएको उनले बताए । उनका अनुसार धेरै पटक बस्तीमा मन्त्री नै आएर लालपुर्जाको आश्वासन बाँडे, पूरा कहिल्यै गरेनन् । ‘निस्सा लिएर लालपुर्जा पाउने झिनो आश नभउको बताए । निस्साले टिकाराम र बाबुरामलाई जस्तै विष्णुमाया श्रेष्ठलाई पनि लालपुर्जाको आश दिलाउन सकेन । बरु यसपालि पनि लालपुर्जा पाइँदैन होला भनेर आशंकित बनाएको छ उनलाई । निस्सा बाँड्दै लालपुर्जा दिन्छौँ भन्नु चुनावी आश्वासन ठानेकी छन् । जानकारहरूका अनुसार २०३० सालपछि शुक्लागण्डकीका स्थानीयलाई लालपुर्जा दिन गरिएको प्रयास यो आठौँ पटक हो । अहिलेसम्म सफल भएको देखिँदैन । आइतबार शुक्लागण्डकी नगरपालिका–७ का ३९ घरलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु भएको भन्दै निस्सा बाँडिएको छ । २४७ परिवारको निस्सा आएको भए पनि वितरण कार्यक्रममा धेरै सहभागी नै भएनन् ।
लालपुर्जा पाइन्छ भन्ने आश नभएको भन्दै धेरै सहभागी भएनन् ।वडाबाट ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गर्न निवेदन दिएकोमा ८६६ को विवरण अनलाइनमा दर्ता भएको छ । निस्सा आएकाको वितरण थालेको शुक्लागण्डकी नगरपालिका(७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले बताए । निस्सा वितरण लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए । उनका अनुसार अब नक्सा नापजाँच गरेर लालपुर्जा वितरण हुनेछ । आफ्नै कार्यकालमा हरेकको हातमा लालपुर्जा थमाउने शुक्लागण्डकीका मेयर किसान गुरुङले बताए । काम गर्दा गर्दै पनि आफ्नो कार्यकालमा नसकिएपनि अब आउने जनप्रतिनिधिले लालपुर्जा बाँड्ने उनले उल्लेख गरे ।








प्रतिक्रिया