३ बैशाख ०७८, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर हरेक दिन विहान २ बजेदेखि ८ बजेसम्म फोहोर बोकेका गाडी ल्याण्डफिल साइटमा लैजाने गरेको काठमाडौं महानगरले जानकारी दिएको छ । पासाङ् ल्हामु राजमार्गअन्तर्गत मुड्खु तीनपिप्ले सडक निर्माण कार्यलाई सहज बनाउन यसबाहेकको समयमा गाडी पठाउन बन्द गरिएको महानगरले बताएको छ
स्थानीयबासीले यो सडक कालोपत्रे हुनु पर्ने माग राखेर चैत १८ गतेदेखि दोस्रो पटक अवरोध गरेपछि सैलुङ कन्ट्रक्सनले कालोपत्रे गर्ने प्रतिवद्धता जनाएपछि चैत २७ गतेबाट कामलाई सहज बनाउन विहानको समयमा मात्र फोहोर ढुवानी गर्न थालिएको हो ।
यसरी फोहोरको आंशिक व्यवस्थापन गर्न थालिएको ३ दिनमा ३ सय ४० ट्रक फोहोर ल्याण्डफिल साइटमा लगिएको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईले जानकारी दिइन् । उनका अनुसार शुक्रबार विहान ८ बजेसम्ममा १ सय ७२ वटा ट्रक फोहोर बोकेर साइटमा पुगेका छन् ।
महानगरको वातावरण व्यवस्थापन विभागकाअनुसार सडक निर्माणका लागि माग गर्दै स्थानीयबासीले फागुन र चैत महिनामा ३ पटक फोहोर लैजान अवरोध गरे । यसअवधिका ३३ दिन फोहोर संकलन हुन सकेन ।
यसविच फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सहरी विकास मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन ग¥यो । ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यस अघि गरिएका प्रतिवद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो । यही दिन काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ¥यापिड एक्सन टाक्सफोर्स गठन भयो । फोहोर व्यवस्थापनका लागि स्थलगत अवस्था मिलाउन तथा फोहोर व्यवस्थापन सम्बन्धी कानुनी र व्यवहारिक समस्यामा समाधानमा सहजीकरण गर्न यो फोर्स बनाइएको हो ।
उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ । जसमध्ये करिव ५ सय ४५ मेट्रिक टन फोहोर काठमाडौँ महानगरको हो ।
सहरको फोहोर व्यवस्थापन गर्न नियमित कार्य सञ्चालन हुनुपर्छ । आंशिक काम गर्दा फोहोरको मात्रा उठाउन कठिन हुन्छ । निमित्त विभागीय प्रमुख राई भन्छिन्, ‘हामीले नियमित काम गर्न पायौँ भने ३ दिनभित्र सहरको सबै फोहोर उठाइसक्छौँ । हामी फोहोर संकलनमा लागिरहेका छौँ । पूर्ण क्षमतामा काम गर्न नपाएपछि समस्या देखिएको हो । यो समस्याको समाधान हामीबाट मात्र सम्भव छैन । अहिलेको समस्याको मुल कारण सडक हो । नेपाल सरकारले यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गरिदिनुपर्छ ।’
प्रतिक्रिया