
९ वैशाख ०७८, काठमाडौं । बिहीबार बुटवलका जलदेव सापकोटा बुधबारबाट भृकुटीमण्डपमा सुरु भएको ‘क्यान इन्फोटेक’ मा दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिका बारेमा जानकारी दिन व्यस्त थिए । आफैँमा दृष्टिविहीन सापकोटाले दुई दिनदेखि खासगरी दृष्टिविहीनलाई कसरी अनलाइनबाट अध्ययन गर्न सकिन्छ भन्नेबारेमा ज्ञान बाँडिरहेका छन् ।
भृकुटीमण्डपको स्टल नं एच ८० मा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल (एड्राड नेपाल)ले आयोजना गरेको दृष्टिविहीन तथा छापा अक्षर पढ्न बाधा हुने अपाङ्गता भएका व्यक्तिहरुद्वारा सूचना प्रविधिको प्रयोग प्रदर्शनी र साक्षात्कारमा जलदेवले जस्तै जलशा सापकोटाले पनि आफूसँग भएको ज्ञान बाँडिरहेका छन् ।
दृष्टिविहीन भएका व्यक्तिहरूले प्रयोग गर्ने सूचना प्रविधिको प्रयोगबारे जानकारी दिने, दृष्टिविहीनका लागि अनलाइन पुस्तकालय कसरी प्राप्त गर्न सकिन्छ भनेर जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी तथा साक्षात्कार यही वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ ।
दृष्टिविहीन जलसाले भने, “विशेषगरी हामीले चेतना दिन खोजेको हो, जस्तो परिवारका कोही सदस्य दृष्टिविहीन भयो भने परिवारमा अब दृष्टिविहीन भएपछि केही गर्न सक्नदैन भन्ने तनाव हुन्छ, हो हामीले चाहिँ दृष्टिविहीनले पनि प्रविधिको प्रयोग गरेर धेरै गर्न सक्छन्, त्यो तनावमा रहेका परिवारले पनि दृष्टिविहीनले प्रयोग गर्ने प्रविधिको प्रयोगबारे थाहा पाउनुपर्छ भन्ने चेतना दिन खोजेको हो ।” प्रदर्शनीमा दृष्टिविहीन भए पनि फोनबाटै विभिन्न एप्सहरु प्रयोग गरेर बैंकको खाता सञ्चालन, अनलाइन सपिङको बारेमा पनि जनाकारी दिने गरिएको छ ।
त्यसैगरी प्रदर्शनीमा अपाङ्गता वा दृष्टिविहीनका बारेमा निर्माण भएका ऐन÷कानुन, नीति, निर्देशिकाका बारेमासमेत छलफल भइरहेको एड्राड नेपालका कार्यकारी प्रमुख डा वीरेन्द्रराज पोखरेलले जानकारी दिए । विश्व बैंक र विश्व स्वास्थ्य सङ्गठनको दाबीअनुसार विश्वको कूल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मानिस अपाङ्गता भएका अवस्थामा बाँचिरहेका छन् । यही दाबीलाई नेपालको हकमा मान्ने हो भने नेपालमा अपाङ्गता भएका व्यक्तिको जनसङ्ख्या झण्डै ३० लाखको हाराहारीमा हुन्छ । तर हालसम्म नेपालमा कति अपाङ्ता भएका व्यक्ति कति छन, कहाँ कस्तो अवस्थामा छन् भन्ने विस्तृत तथ्याङ्क राज्यसँग छैन ।
नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको कूल जनसङ्ख्याको झण्डै दुई प्रतिशत ९१ दशमलव ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार २१० रहेको छ । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव छ प्रतिशत, दृष्टिविहीन १६ दशमलव पाँच प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव चार प्रतिशत रहेका छन् । त्यसैगरी बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव पाँच, श्रवण दृष्टिविहीनसम्बन्धी एक दशमलव आठ, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता दुई दशमलव नौ र बहुअपाङ्गता भएका सात दशमलव पाँच प्रतिशत रहेका छन् ।







प्रतिक्रिया