२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा मतदाता शिक्षामा बेथिती, स्थानीय सञ्चारमाध्यमलाई बेवास्ता




ललितपुर खबर
२२ वैशाख ०७९, ललितपुर । निर्वाचन आयोगले मतदाता शिक्षाको गर्ने खर्च ठूला मिडियालाई पोस्ने र स्थानीय सञ्चारमाध्यमहरुलाई हेप्ने रणनीति अख्तियार गरेको पाइएको छ ।
यस वर्ष मितव्ययी स्थानीय निर्वाचन बनाउने भन्दै मतदाता शिक्षामा हुने खर्च कटौती गरेको आयोगले स्थानीय सञ्चारमाध्यमहरुलाई वेवास्ता गर्दै त्यो पैसा राष्ट्रिय स्तरका सञ्चारमाध्यमलाई विज्ञापन दिएको छ ।
ललितपुरमा मतदाता शिक्षाको नाममा आएको पैसा स्थानीय स्तरमा चलेका संचारमाध्यमहरुलाई वेवास्ता गर्दै ठूला सञ्चारमाध्यमहरुलाई विज्ञापन दिइएको हो ।
जिल्ला निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाले माउण्टेन टेलिभिजन, कृषि टेलिभिजन, कान्तिपुर एमएम, उज्यालो एमएमलगायतका देशभर पहुँच भएका सञ्चारमाध्यमहरुलाई मतदाता शिक्षाको लागि विज्ञापन दिइएको बताइन् । उनले भनिन्,‘आयोगले नै ठूला संचारमाध्यमलाई विज्ञापन दिनु भनेर पठायो । स्थानीय सञ्चारमाध्यमहरुलाई बजेट नै राखेको छैन ।’


प्रमुख धमलाका अनुसार स्थानीय १३ वटा पत्रपत्रिकालाई १० हजार तोकेर पठाइएको छ । यद्यपी ललितपुरमा नियमित प्रकाशन हुने पत्रत्रिका एक दुई वटा मात्रै छन् । उनले भनिन्, ‘स्थानीय अनलाइनलाई त बजेट नै छुट्याइएको छैन ।’
ललितपुरमा ललितपुर खबर, प्रणाम खबर, कलियुग न्युज, आधारभूमि, काठखबर र समानता नेपाललगायतका अनलाइन सक्रिय रुपमा स्थानीय समाचार पस्किरहेको छन् । यहाँका स्थानीय सञ्चारमाध्यमहरुमा स्थानीय पत्रकारहरु दिनरात काम गरेर सूचना र समाचार दिइरहेका छन् । तर ठूला भनिने संचारमाध्यमहरुमा ललितपुर आधार बनाएर काम गर्ने पत्रकारहरु समेत छैनन् ।
प्रमुख धमलाले स्थानीय अनलाइनहरुले छिटो र वास्वविक पाठकहरुबीच सूचना र समाचारहरु पु¥याउने कुरामा आफू सहमत भए पनि आयोगको निर्णय अनुसार आफू काम गर्न बाध्य रहेको बताइन् । उनले भनिन्, ‘मैले लेखेर पठाएको छु । सच्चिएर आए हामी स्थानीय सञ्चारमाध्यमहरु पनि समेट्छौं ।’
पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले आफूले जिल्ला निर्वाचन कार्यालयलाई सबै स्थानीय सञ्चारमाध्यमहरुको विवरण पठाएको बताए । उनले भने, ‘स्थानीय निर्वाचनमा स्थानीय संचारमाध्यमहरुको सहयोग लिएर निर्वाचन आयोग अघि बढ्नु पर्ने हो । हामी समन्वय गरेर यो कुरा सुधार गर्नेतर्फ लाग्छौं ।’

ललितपुर आधार बनाएर काम गर्ने पत्रकार सन्तोष दाहालले आयोगले ललितपुरको स्थानीय निर्वाचनमा स्थानीय सञ्चारमाध्यमहरुको भूमिकालाई नजरअन्दाज गर्नु दुखद भएको बताए । उनले भने, स्थानीय पत्रकारितालाई आयोगले अपमान गरेको हो । ललितपुर नबुझने कर्मचारी संयन्त्र हुँदा यस्तै हुन्छ ।
उनले ललितपुर पाटन शहर मात्रै नभई काँठ र २ वटा पालिका रहेको दक्षिण ललितपुरलाई सूसुचित गर्न स्थानीय अनलाइन सञ्चारमाध्यमहरुको ठूलो भुमिका छ । उनले भने, ‘स्थानीय स्तरमा निर्वाचनको वातावरण बनाउन स्थानीय सञ्चारमाध्यमहरुको ज्यादै ठूलो भूमिका छ ।’
अघिल्ला निर्वाचनहरुमा जस्तो आयोगले भोट हाल्ने तरिका सिकाउन आयोगले यस वर्ष सरकारी कर्मचारी खटाएको छैन । खर्च कटौती गर्ने भन्दै यो वर्ष आयोगले टोल टोलमा नमूना निर्वाचन पनि गरेन ।
आयोगले डिजिटल र सञ्चारमाध्यमको सहयोग लिने भन्दै मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ८ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।