९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दाइजो नदिए बेहुली लैजान्न भन्ने बेहुला पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२४ वैशाख ०७८, काठमाडौं । मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने भनेर बिहेको जग्गेमै दबाब दिएको अभियोगमा बेहुला पक्राउ परेका छन् । पक्राउ पर्ने बेहुला झापा गाउँपालिका ४ का २८ वर्षीय डेबिट चौधरी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।
उनका अनुसार मेचीनगर–१५ निवासी पुष्पलाल राजवंशीको छोरीसँग चौधरीको शुक्रबार विवाहको दिन थियो । बिहे सकेर बेहुली अन्माउने बेलामा चौधरीले मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने अड्डी कसेका थिए । आर्थिक अवस्था कमजोर रहेका बेहुलीका बुवा पुष्पलालले सम्झाउँदासमेत नमानेपछि विवाह कार्यक्रम बिथोलिएको थियो । अहिले नै दाइजो मागेर तनाव दिनेसँग म बिहे गर्दिन भनेर बेहुलीले भनेपछि पुष्पलालले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरी टोलीले बेहुला बनेका चौधरीलाई जग्गेबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । हाल आरोपितलाई धुलाबारी इप्रकाको हिरासतमा राखिएको छ । पुष्पलालको घरमा शुक्रबार दुई छोरीको एकैदिन विवाह थियो । अर्की छोरीको विवाह दाइजो बेगर नै सम्पन्न भएको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा ७४ मा विवाहमा कुनै लेनदेन गर्न नहुने कानुनी व्यवस्था छ । लेनदेन भन्नाले दाइजोसमेत बुझिन्छ । यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद वा रु ३० हजार जरिवाना वा दुवै सजाय हुने कानुनमा व्यवस्था छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।