
४ जेठ ०७९, काठमाडौं । काठमाडौं नयाँबानेश्वरस्थित संघीय संसद् भवन अगाडि ग्यास सिलिण्डर विस्फोट गराउन खोज्ने समूहका ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखाको लखन गाउँपालिका–५ घर भएका २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ घर भएका २८ वर्षीय युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका–८ का ३६ वर्षीय बिके सिंह भनिने भरतकुमार राई रहेका छन्वैशाख ३० गते यो समूहले संसद भवन अगाडि सिलिण्डर राखी आगो लगाएर भागेको थियो। तत्कालै प्रहरी वृत्त नयाँबानेश्वरबाट डीएसपीसहितको टोली खटिएर आगो निभाउँदा विस्फोटबाट हुने सम्भावित क्षति रोकिएको थियो।
विस्फोटबाट बिके कम्प्लेक्समा रहेको दृष्टि आँखा केन्द्र लेखिएको भवन तथा साइन ग्लोबल एजुकेशन कन्सल्टेन्सीको सिसी फुटेको थियो।
पक्राउ परेकामध्ये भरतकुमार यसअघि पनि विभिन्न मितिमा हातहतियार तथा खरखजना, बैंकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कारबाही भएका व्यक्ति भएको खुलेको छ।
कम्युनिस्ट पार्टी अफ नेपाल सियान नामक फेसकुब आइडी समेत यो समूहले प्रयोग गर्दै आएको खुलेको छ। उनीहरुको साथबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (सीवादी) लेखिएको पर्चा, पम्प्लेट, सिलिण्डर विस्फोट गराउन प्रयोग हुने विभिन्न सामानहरु बरामद गरेको छ।
त्यसैगरी ८ थान मोबाइल, युवराज थापाको डेराबाट सिवादीको पर्चा, पम्प्लेट बरामद भएका छन्। भरतकुमारको साथबाट बा २२ प २४१९ नम्बरको स्कुटर, कम्युटर, कम्ब्याट ज्याकेट, कम्ब्याट टेपी, झोला बरामद भएको छ।
काठमाडौं उपत्यकाको नक्सा, प्रेस लेखिएको ज्याकेट, कम्युनिस्ट पार्टीको झण्डा, प्लास्टिकको नक्कली पेस्तोल, विभिन्न किसिमका रबर स्ट्याम्पस, मिडियासँग सम्बन्धित कागजातहरुरु बरामद भएका छन्।
चारै जनाविरुद्ध विस्फोटक पदार्थसम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया