२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेवार समुदायले मनाए ‘सिथि नखः




ढुङ्गेधारा वरिपरि सफा गर्दै विद्यार्थी
सिथि नखः पर्वका अवसरमा आइतबार भक्तपुर नगरपालिका–८, महालक्ष्मी स्थानमा ढुङ्गेधारा सफा गर्दै विद्यार्थी । पानी दूषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गर्ने परम्परा रहेको छ । तस्बिरः लक्ष्मी गारु\रासस

२३ जेठ ०७९, काठमाडौं । नेवार समुदायले सिथि नखः एक, परम्परा अनेक’ आज धुमधामका साथ मनाएको छ । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने सिथि नखः नेवार समुदायले मनाउने चाडपर्वमध्ये एक हो ।
नेवार समुदायले लिच्छविकालदेखि नै मनाउँदै आएको सिथि नखः वर्षभरी मनाउने अन्तिम पर्वका रुपमा लिइने संस्कृतविद् श्रीकान्त श्रेष्ठ बताउछन् । वर्षायाम सुरु हुने बेलामा पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि सिथि नखः पर्व एक भए पनि यस दिन अनेक परम्परा गरी पर्व मनाउने गरिन्छ ।
यस पर्वका अवसरमा आज पानीका परम्परागत स्रोतहरूको सरसफाइ गरिएको छ । नेवार समुदायले आज आफ्नो घर, टोल र क्षेत्रमा रहेका इनार, ढुङ्गेधारा, कुवा र पोखरी सफा गरेको छ । वर्षौंदेखि चल्दै आएको उक्त परम्परा अहिले पनि जारी छ । सिथि नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास रहँदै आएको छ । काठमाडौँमा २ सय ३३ परम्परागत ढुङ्गेधारा अझै चालू रहेको र १ सय ५६ लोप भइसकेको बताइएको छ । परम्परागत इनार ललितपुरमा ३ सय ८८ र भक्तपुरमा ३सय ९८ रहेको तथ्याङ्क छ ।

भगवान् महादेव र पार्वतीका ज्येष्ठ पुत्र कुमारको जन्म दिनसमेत भएकाले यस दिन बिहानै स्नान गरी कार्तिकेश कुमारको पूजा गरी विभिन्न दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको संस्कृतविद् श्रेष्ठ बताउछन् । सिथि नखःका दिन घर आँगनमा गोबरले लिपेर पाँच पलेस्वां लेखी श्रीकुमार (सिथिद्यः) भनी आराधना गरी पञ्चोपचार घरको मूल ढोका बाहिरको (पिखालखु) अर्थात् क्षत्रपाल कुमारलाई सिथि देवताका रुपमा पूजा गर्ने परम्परा छ ।
त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत यस दिन खाने गरिन्छ । असारमा काम गर्न शरीर बलियो बनाउने र घरमा आएका बाधा व्यवधान हट्ने जनविश्वास रहँदै आएको छ । यस पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने पर्वका रुपमा समेत यसलाई लिने गरिन्छ । उपत्यकामा बसोबास गर्ने नेवारमध्ये देवाली पूजा र कुल (पूजा)को निश्चित तिथि नभएकाले यसै दिन कुल देवताको पूजा गरी देवाली मनाउने परम्परा छ ।
त्यसैगरी सिथि नखःको दिनदेखि ज्यापु समुदायले धिमे बाजा थन्क्याउने गर्छन् । धिमे बाजा थन्क्याएर एक महिनासम्म रोपाइँमा लाग्ने भएकाले यसलाई सिनाज्या पर्व पनि भन्ने गरिन्छ । त्यसैले सिथि नखःको भोलिपल्टदेखि गथेमङ्गल अर्थात् घण्टाकर्ण नआएसम्म यो अवधिभर धिमे बाजा र भुस्या बजाउन नहुने मान्यता छ । बौद्धमार्गीले यस दिनलाई बुद्ध महासत्व भई जन्म लिएका बेलाका रुपमा मनाउने गर्दछन् ।
सिथि नखः अर्थात् कुमार षष्ठीलाई रावण षष्ठी पनि भनिन्छ । अयोध्याका राजा दशरथका जेठा छोरा रामचन्द्रले रावणबाट हरण भएकी पत्नी सीतालाई फर्काएको दिनका रुपमा पनि यस दिनलाई लिइन्छ । नेवार समुदायले मात्रै होइन, अचेल देशभर सबै जातजातिले पानीको महुान, टोल सरसफाइ गरी यो पर्व मनाउने गर्दछन् । सरकारले सिथि नखःको सन्दर्भमा राष्ट्रिय सरसफाइ सप्ताहको घोषणा गरिसकेको छ ।
सन् १८९१ मा वीरशमशेरले पाइप लाइनबाट पानी अपूर्ति गर्ने वीरधारा ल्याउनुभन्दा अगाडिसम्म उपत्यकाको सम्पूर्ण पानी आपूर्ति ढुङ्गेधारा, इनार, कुवा, खोलाबाट हुँदै आएको बताइन्छ । ढुङ्गेधाराबाट दिनरात बग्ने पानी खेर जान नदिन ढलको व्यवस्था, यसको दायाँबायाँ खाल्डो बनाएर जमिनमा पानी जम्मा गर्ने र नजिकै इनार खनेर पानी सुरक्षित गरिराख्ने प्रविधि पनि उपत्यकावासीले प्राचीनकालदेखि नै प्रयोगमा ल्याइरहेको र पानीको पर्याप्त आपूर्ति भइरहेको थियो । अहिले भने भवन निर्माण बढ्दै गएपछि कैयौँ परम्परागत पानीको स्रोत र मुहान पुरिने तथा इनार र ढुङ्गेधारा लोप हुन थालेपछि पानीको अभाव हुन थालेको संंस्कृतिविद् श्रेष्ठ बताउनछन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ६ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।