४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोटेश्वर क्षेत्रको बागमतीबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन   



फाइल तस्बिर

२५ असार ०७९, काठमाडौं ।  ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ कोटेश्वर महादेव मन्दिरको पश्चिम भागस्थित बागमती किनारमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
‘हामी सक्छौँ कुहिने र नकुहिने फोहर छुट्याउन’ भन्ने प्रतिबद्धतासाथ अभियानकर्मी बागमती सफाइमा जुटेका थिए । आज बागमती सफाइ महाअभियानको ४७८औँ हप्ता हो । सफाइमा काठमाडौँ महानगरपालिका–३२, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लगायतको संस्थागत सहभागिता थियो । प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, नागरिक समाज सिनामङ्गलका अध्यक्ष मोहन पराजुली सहितका पदाधिकारी, नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, वाग्मती फोहर उन्मुलन उपभोक्ता समाजका पदाधिकारी, लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्ध, लियो क्लब अफ काठमाडौँ सिद्धार्थ गौतम बुद्ध, लायन्स क्लब काठमाडौं न्यु ग्रिन सिटि, लायन्स क्लब काठमाडौँ न्यू स्मार्ट सिटि , आलोक नगर सरसफाइ संयोजक प्रमिला पौडेल, बानेश्वोर महिला फोहर व्यवस्थापन प्रालिका अध्यक्ष दुर्गा दुलाल, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, स्थानीयवासी, विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं बागमती सफाइ अभियानकर्मीको पनि सफाइमा सक्रियता थियो ।
सफाइका क्रममा तीन वटा समूहले टोल टोलमा गएर त्यस क्षेत्रका प्रत्येक घरमा फोहर वर्गीकरण गरेर मात्रा व्यवस्थापन गर्न अनुरोध गरिएको थियो । सडकमा फोहर नफाल्न र प्रत्येक पसलले पसल आगाडि सडकमा सामग्री राखी नागरिकलाई पैदल हिँड्न बाधा नपु¥याउन अनुरोधसमेत गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइ महाअभियानको अनुरोध नमानी बाधा अवरोध खडा गरेमा माहानगरपालिकाले दण्ड जरिवाना गरिने जानकारी समेत सो अवसरमा गराइएको उहाँले सुनाउनुभयो । एक समूहले भने वाग्मती नदीमा पसेर फोहर व्यवस्थापन गरेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो । सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ । यसैगरी आज गुह्येश्वरीमाथिको बागमतीलगायत बागमतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।
नागरिकस्तरबाट स्वयंसेवी रुपमा सुरु भएको साप्ताहिक सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारले फोहर व्यवस्थापन नगर्दा समस्या भएको स्थानीयवासीको गुनासो छ । राजधानीका विभिन्न स्थानमा अहिले पनि फोहरको थुप्रो छ । फोहर व्यवस्थापनमा स्थानीय सरकार असफल हुँदा हैजाजस्ता रोग फैलिएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ४१ बजे