२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ट्रान्सफर स्टेशनलाई दुर्गन्धरहित बनाउन जीवातु हालेर प्लाष्टिकले छोपियो



२६ असार ०७९, काठमाडौं । काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । बर्खाको बर्षात्ले सडक विग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन । अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्युन हुनेछ ।

प्लाष्टिकले छोपिएको ट्रान्सफर स्टेशन अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । आज घाम लागेको छ । यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौँ र स्टेशनमा फोहोरको मात्रा घटाउनेछौँ । ईञ्जिनियर लम्सालको भनाइ छ ।

ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ । ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरुप प्रयास भएको हो । सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ । यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन् । यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ ।

यो व्याक्टेरिया सकारात्मक व्याक्टेरिया हो । यसले मानब स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । यहाँबाट फोहोर संकलन तथा ढुवानीका लागि निस्कने सवारी साधनलाई पानीले पखालेर मात्र निकाल्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।