
१६ असोज ०७९, काठमाडौ । नेपाली कांग्रेसले लामो आन्तरिक झमेला पार गर्दै समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ। शनिबारदेखि रातभर बैठक बसेर बिहानपख नाम टुंगो लगाउँदै समानुपातिक उम्मेदवारको टुंगो लगाएको हो। तत्कालका लागि कांग्रेस भित्रको रडाको टुंगिएको बताइएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले अन्तिम सूची बुझाएको छ। निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा भएको त्रुटी संशोधनका लागि आइतबारसम्मको समय दिएको थियो।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ। आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो। समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको कांग्रेस स्रोतले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङ शेर्पाको नाम भने हटाइएको छ। संशोधित सूचीमा आफ्नो नाम हटाइएको जानकारी शेर्पा आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।
मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटी संशोधनका लागि ९ गतेदेखि असोज १६ सम्मको समयावधि दिएको थियो। बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले सोमबारसम्म फिर्ता लिन सक्नेछन्।







प्रतिक्रिया