१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दीक्षित विद्यार्थी भन्छन्,‘देशमै अवसर देऊ’



प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल‘प्रचण्ड’बाट पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी। लेन्स : प्रदीपराज वन्त/रासस

पोखरा
९ फागुन । स्याङ्जाका सुशील पङ्गेनी व्यवसाय प्रशासनमा स्नातकोत्तर छन् । पोखरा विश्वविद्यालयबाट उपाधि हासिल गरेका उनी सोमबार आयोजित अठारौँ दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दीक्षित भए ।
पङ्गेनीले व्यवस्थापन सङ्कायतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी ‘कुलपति पदक’समेत प्राप्त गरे । दीक्षान्त समारोहमा हँसिलो मुद्रामा भेटिनुभएका उनले नेपालमै केही गर्ने सोच रहेको सुनाउनुभयो । पङ्गेनीको पहिलो रोजाइ भने बैङ्किङ सेवा हो ।
“राष्ट्र बैङ्कका लागि लोकसेवा तयारी गरिरहेको छु”, उनले भने, “विदेश जाने त्यस्तो कुनै सोच बनाएको छैन, सरकारी सेवामा पनि जागिरको अवसर छ, त्यसमै लागिरहेको छु ।” उच्च शिक्षा हासिल गरेका विद्यार्थीका लागि स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने पङ्गेनीले बताए ।
उनले दक्ष जनशक्ति स्वदेशमै रहने वातावरण सिर्जना गर्ने मुख्य दायित्व सरकारको रहेको बताए । उपयुक्त वातावरण र रोजगारीको अवसर पाए कोही पनि नेपालीले विदेश ताक्नु नपर्ने उनको भनाइ छ ।
उनले झैँ अधिकांश दीक्षित विद्यार्थीले लोकसेवा पढेर सरकारी जागिरमा प्रवेश गर्ने इच्छा रहेको सुनाए । काठमाडौँकी श्रिया रिजाल पनि व्यवस्थापन विषयमै स्नातकोत्तर छिन् । उनले पनि बैङ्किङ, परराष्ट्र सेवाजस्ता क्षेत्रमा अवसर खोजिरहेको बताइन् । “अवसर पाएसम्म विदेश किन जाने ?, यहीँ बस्ने वातावरण सरकारले बनाउनुपर्छ”, उनले भनिन् ।

उच्च शिक्षा पढेर पनि जागिर नपाउने स्थितिको अन्त्य गर्नुपर्ने रिजालले बताइन् । स्वास्थ्य विज्ञान सङ्कायतर्फ फर्मास्यूटिकल साइन्समा स्नातक पोखरा ७ का जगदिश पौडेलले रोजगारी सिर्जनाका लागि स्वास्थ्य पूर्वाधारमा राज्यले लगानी बढाउनुपर्ने बताइन् । “औषधि उत्पादन, वितरणदेखि धेरै विषयहरू योसँग जोडिएको छ”, उनले भनिन्, “सरकारले स्वास्थ्य संस्थामा रोजगारीको कोटा पनि थप्नुपर्छ, त्यो भयो भने हामीले पनि अवसर पाउँछौँ ।”
प्राविधिक विषयमा ठूलो शैक्षिक जनशक्ति उत्पादन भइरहे पनि नेपालले टिकाउन नसकेको पौडेलले बताए । “पढाइमा परिवारको ठूलो लगानी परिरहेको हुन्छ, शैक्षिक उपाधि लिन उस्तै मेहनत गर्नुपर्छ, तर रोजगारीको सुनिश्चितता छैन”, उनले भने, “भविष्यको खोजीमा बाहिर जानु नेपालीको बाध्यता हो ।”
उनले राजनीतिक नेतृत्व र राज्य संयन्त्रले शैक्षिक जनशक्तिको पलायनलाई रोक्न उचित नीति र कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । व्यवसाय प्रशासनमा स्नातक चितवनकी आस्था मगर पनि लोकसेवाको तयारीमा छिन् । उनलाई पनि राष्ट्र बैङ्कको जागिरे बन्ने ठूलो रहर छ ।
“जागिरको तयारीसँगै आफ्नो अध्ययनलाई पनि अगाडि बढाइरहेकी छु, विदेश जाने कुनै सोच अहिलेसम्म छैन, पाएसम्म नेपालमै अवसर खोज्ने हो, नत्र विकल्प त अपनाउनै पर्छ”, उनले भने, “मेरो परिवारको पनि सरकारी जागिरमै बढी जोड छ ।” देशमै काम गर्ने उपयुक्त वातावरण भए विदेश जानै नपर्ने मगरले बताए ।
विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले शैक्षिक जनशक्ति राष्ट्रनिर्माणका लागि महत्पूर्ण स्रोत भएको बताए । दीक्षान्त समारोहमा उहाँले विश्वविद्यालयले देशको सर्वाङ्गीण विकासका लागि चाहिने ज्ञान र सीपयुक्त जनशक्ति तयार गरिरहेको उल्लेख गरे ।

“शिक्षाले सभ्य समाजको निर्माण गरी देशलाई विकास र प्रगतितर्फ उन्मुख गराउँछ, शिक्षित दक्ष जनशक्तिको अभावमा देशले लक्षित प्रगति हासिल गर्न सक्दैन”, उपकुलपति प्रा डा अर्यालले भने ।
उनले विश्वविद्यालयबाट विभिन्न तहमा उपाधि प्राप्त गरी दीक्षित भएका विद्यार्थीहरूलाई राष्ट्रनिर्माण र परिवर्तनको संवाहकका रुपमा काम गर्न आग्रह गरे । “आर्जित ज्ञान र सीपलाई देश विकास र आफ्नो सफल भविष्य निर्माणका लागि सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ”, उनले भने ।
विसं २०५४ सालमा स्थापना भएको पोखरा विश्वविद्यालयका ६६ वटा महाविद्यालयहरूमा प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हुँदै आएको छ । दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।
विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्र्तीण विद्यार्थीहरूलाई उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीक्षित गरेका हुन् ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।