५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र पत्रकार संघका १८ जना सदस्यले दिए सामूहिक राजीनामा



काठमाडौं
१९ फागुन । यौन दुर्व्यवहारमा संलग्न व्यक्तिलाई अध्यक्ष बनाइएको भन्दै चलचित्र पत्रकार संघका सदस्यहरूले साधारण सदस्यसमेत नरहने गरी १८ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
बिहीबार सम्पन्न नवौँ महाधिवेशनमार्फत यौन दुर्व्यवहारमा संलग्न समीर बलामीलाई अध्यक्ष बनाइएको भन्दै संघका १८ जना सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
राजिनामा दिनहरुमा पुष्पा थपलिया,गंगीता गिरी,सुशील पौडेल,सम्झना उप्रेती रौनियार,प्रदीप कार्की,प्रकाश ढकाल,रीना मोक्तान,गणेश वली,लोकेन्द्र राउत,अनिल यादव,चिरञ्जिवी सापकोटा,सुशील नेपाल,लक्ष्मी बलायर,नवीन काजी राई,बैकुण्ठराज पराजुली,स्वेच्छा राउत,सविन ढकाल,संगीता श्रेष्ठ रहेका छन्
सामूहिक राजीनामा दिने सदस्यहरूले संघलाई बुझाएको पत्रमा भनिएको छ– ‘यसै संस्थाकी साधारण सदस्य विरुद्ध यौन दुर्व्यवहारको मुद्दामा संघ आफैँले अनुसन्धान गरिरहेको व्यक्तिको नेतृत्व हामीलाई स्वीकार्य छैन ।’
यौन दुर्व्यवहारको आरोप लागेका बलामी अध्यक्षको उम्मेदवार भएपछि बन्दसत्रमा विरोध गर्दै दुर्व्यवहारमा परेका महिलाले दाबीविरोध गर्दासमेत उनको उम्मेदवारी कायम राखेर निर्वाचित गराइएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।
पत्रमा भनिएको छ– ‘हामीले निज नवौँ महाधिवेशनबाट अध्यक्षको उम्मेदवार भइरहँदासमेत बन्दसत्रमा विरोध गरेका थियौँ । र निजबाट दुर्व्यवहारमा परेकी सदस्यले दाबीविरोध समेत गरेकी थिइन् । विरोधका बाबजुद पनि बलामीको उम्मेदवारी कायम राखी विजयीसमेत भएको अवस्थामा हामी तपसिलका सदस्यहरूले संघमा रहन असुरक्षित महसुस गरेका छौं ।’
यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिको नेतृत्वमा संघमा बस्न असुरक्षित, असहज र नैतिक रुपमा सकस भएकाले सामूहिक राजीनामा दिएको उनीहरूले भनेका छन् ।
‘यौन दुर्व्यवहारको आक्षेप लागेर मुद्दा किनारा नलागिसकेको अवस्थामा बलामीकै नेतृत्वमा संघमा बसिरहन असुरक्षित, असहज र नैतिक रुपमा सकसको अवस्था भएकाले हामीले राजीनामा पेश गरेका छौँ ।’

यसअघि करिव एक वर्ष अघि बलामीले यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएको थियो । त्यो समय महासचिव रहेका बलामीले दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महासचिवबाट राजीनामा दिएका थिए ।
संघमा यौन दुर्व्यवहार आरोपसहित उजुरी परेपछि संघले छानविन समिति समेत गठन गरेको थियो । तर, समितिले अहिलेसम्म त्यस विषय सार्वजनिक रुपमा केही बालेको छैन ।
यौन दुर्व्यवहार जस्तो गम्भीर आरोपमा छानविन समितिले छानविन प्रतिवेदन नै सार्वजनिक नगरी बलामी अध्यक्ष बनेपछि उक्त विषय पुन सतहमा आएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।