८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि रात्रिकालीन उडान



पोखरा
२५ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार)देखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ ।
विमानस्थलमा उपकरणका आधारमा विमान उडान÷अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने बताइन्छ ।
बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताएका छन् । उनका अनुसार हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन् ।
उनले भने, “पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि भोलिदेखि बुद्धले रातको समयमा समेत औपचारिक उडान सुरु गर्दैछ । बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन् ।”

यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार थिएन । मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो ।
बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताउनुभयो । बुद्धका चारवटा जहाज राति पोखरामा नै रात्रि बिसान गर्नेछन् । कर्णका अनुसार बिहीबार काठमाडौँबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगञ्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ ।
उनले भने, “हाल चारवटा जहाज पोखरामै रात्रि बिसान हुन्छ । भोलिपल्ट बिहान पोखराबाट सम्बन्धित गन्तव्यमा उडान सुरु हुन्छ । यसले पोखराको पर्यटनलाई ठूलो सहयोग पुग्ने विश्वास छ ।”
पोखराको पुरानो विमानस्थलमा आइएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो । पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन् । यहाँका पर्यटन व्यवसायीले विगतदेखि नै रात्रिकालीन उडानको माग गर्दै आएका थिए ।
अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो । सोही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुनसकेको छैन ।

विमानस्थल सञ्चालनमा आएको दुई महिना पुगिसक्दा समेत एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका पर्यटन व्यवसायी तथा उद्योगी निरास छन् । सरकारले भने अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकहरूसँग कूटनीतिक पहल भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १ : ०४ बजे