५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला



२१ चैत्र । चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीको आयोजनामा माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ घलेलमा चलचित्र पत्रकारिता कार्यशाला गरिएको छ ।

चलचित्रका क्षेत्रमा कलम चलाउने पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ दुई दिने कार्यशाला आयोजना गरिएको चलचित्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिएका छन् ।

करिब ५० जना पत्रकार सहभागी कार्याशालामा सुरेश रानाभाट, केशवशरण लामिछाने र नारायण अमृतले प्रशिक्षण दिएका थिए । कार्याशालाको उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले घलेल धेरै पर्यटकीय सम्भावना बोकेको स्थान रहेर पनि ओझेलमा परेको बताए ।

मर्दी हिमाल, खुमैलगायतका स्थानमा जाने प्रमुख गन्तव्य घलेल भए पनि यसको पर्यटकीयरूपमा विकास हुन नसकेको उनले बताए । प्राचीन मौलिक बस्तीसँगै नजिकबाट हिमाल नियाल्नका लागि पनि घलेल उपयुक्त गन्तव्य रहेको भन्दै उनले गाउँमाथि रहेका तारे बराह, महागुरु गुम्बा आदि धार्मिकरूपमा विशिष्टस्थल भएको बताए ।

माछापुच्छ्रे ८ का वडाध्यक्ष राम गुरुङले पछिल्लो समयमा बसाइँसराइको बढ्दो क्रम घलेलका लागि चुनौती बनेको बताए । चलचित्र छायाङ्कनका लागि घलेल उपयुक्तस्थल भएको बताउँदै उनले यसको प्रवर्द्धनको खाँचो औँल्याए ।

चलचित्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समिर बलामीले कृष्णचन्द्रसिंह प्रधानदेखिको चलचित्र पत्रकारिताको इतिहास रहेको उल्लेख गर्दै यस्ता तालिम तथा कार्यशालाले यस क्षेत्रमा कलम चलाउनेलाई थप परिष्कृत बनाउने बताए ।

कार्यक्रममा चलचित्र पत्रकार सङ्घ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, कार्यक्रम संयोजक सुरेश सुनार, घलेल सामुदायिक होमस्टेका सचिव सुनकुमारी गुरुङ, नेपाल पत्रकार महसङ्घ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमल्सिना, सङ्घका सचिव सन्तोष बस्याललगायतले बोलेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ४ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।