२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर इमाडोलबाट निर्मला ढकाल बेपत्ता



बेपत्ता भएको खबरले मन पोलिरहेको छ, काठमाडौँ, भक्तपुर, ललितपुरका धेरै ठाउँमा पुगिसकेँ, केही पत्तो लागेको छैन

 

१४ बैशाख । ललितपुरमा बस्दै आएकी ४० वर्षीया निर्मला ढकाल सुवेदी (निरु) गएको चैत २३ देखि बेपत्ता भइन् । उनको खोजीका लागि प्रशासन, सामाजिक सञ्जाल र आफन्तसमेत गुहारियो । तर हालसम्म उनलाई पत्ता लगाउन सकिएको छैन ।

ललितपुरस्थित महालक्ष्मी नगरपालिका ३ इमाडोलमा श्रीमान् चेतमणि सुवेदीसँग बस्दै आएकी निरु बेपत्ता भएकी हुन् । उनका साथमा पाँच वर्षीय छोरा चेन्ज सुवेदीसमेत रहेका छन् । दुवै जना हाल परिवारको सम्पर्कमा छैनन् । इमाडोल टेम्पोपार्क नजिकै रहेको आफ्नै मिनीमार्टमा दिनभर काम गरेकी उनी साँझदेखि हराएको बताइएको छ । व्यापारबाट घरगुजारा चलेकै थियो । मिनीमार्टमा अरु स्टाफ पनि भएकाले पसलसँगै निरु इमाडोलको कृष्ण मन्दिर नजिकै डेरामा छोराको हेरचाह गर्दै बस्दै आएको पारिवारजनले जानकारी दिएका छन् ।

पाँच वर्ष कोरिया बसेर फर्किएपछि घरजम गरेकी निरु छोरासहित बेपत्ता भएपछि परिवारमा आपत्ति निम्तिएको छ । चैत २२ गते नजिकै साथीको घरमा बास बसेकी उनी २३ गतेदेखि सम्पर्क नभएको परिवारबाट जानकारी प्राप्त भएको छ । निरु हराएपछि निरुका बुबा ६७ वर्षीय नारायण ढकाल इलामको माइजोगमाईबाट काठमाडौँ आएका छन् । ढकाल यतिबेला आफ्नी साइँली छोरी निरु र नातिको खोजीमा उपत्यकाका सडक र गल्लीमा भौँतारिरहेका छन् । प्रहरी प्रशासन, आफन्त, चिनजानमा रहेका व्यक्तिसँग छोरी खोजी गरिदिन हारगुहार गरिरहेको उहने बताए ।

इलामको देउमाई नगरपालिका ६ स्थायी घर र इलामकै माइजोगमाई ६ माइत भएकी निरुको सीमित साथी र केही आफन्तबाहेक धेरैसँग सम्पर्क नभएको बुझिएको छ । दुई वर्षदेखि मोबाइल बोक्न नदिएको भन्ने बुबाले भर्खरै थाहा पाएका रहेछन् । मोबाइल नभएपछि सामाजिक सञ्जाल चलाउने कुरै भएन । ज्वाइँसँग राम्रैसँग घर गरी खाएको भन्ने जानकारी भएपछि माइती पक्षले खासै चासो राखेको थिएन । घरजम गरेकी छोरीलाई धेरै सोधीखोजी नगरिएको बुबा ढकालको भनाइ छ । “बेपत्ता भएको खबरले मन पोलिरहेको छ, काठमाडौँ, भक्तपुर, ललितपुरका धेरै ठाउँमा पुगिसकेँ, केही पत्तो लागेको छैन”, उनले भने ।

मन्दिर, आश्रम, सडक गल्ली सबैतिर पुगिसकेको भए पनि कुनै खबर प्राप्त नभएको बुबा बताउछन् । प्रहरी, आफन्त, साथीसङ्गत सबै बुझिसकेको भए पनि बजारको भीडभाडमा छोरी कतै फेला नपरेपछि उनी निराश छन् ।

 

पाँच वर्ष कोरिया बसेर फर्किएपछि घरजम गरेकी निरु छोरासहित बेपत्ता भएपछि परिवारमा आपत्ति निम्तिएको छ

छोरी र नाति बेपत्ता भएपछि ज्वाइँको बोली र व्यवहारप्रति शङ्का लागेको ढकालको भनाइ छ । उनले ज्वाइँले पटक–पटक बोली फेर्ने गरेको दुःखेसो व्यक्त गरे । छोरीसँगको सम्बन्धमा खटपट भएको आशङ्का आफूले गरेको बुबाको भनाइ छ । बेपत्ता निरुका भाइ सञ्जीव ढकालसमेत काठमाडौँमै छन् । उनले दिदी चैत २३ गते साथीकोमा जान्छु भनी निस्किएको पछि मात्र आफूले जानकारी पाएको बताए । मोबाइल पनि नबोकेका कारण फोन गर्ने कुरै भएन । एकसरो मात्र कपडा लगाएर हिँडेकी दिदीको प्रतीक्षामा माइती पक्ष तथा परिवार रहेको उनले बताए ।

बेपत्ताको खोजीका लागि परिवारले नेपाल प्रहरी वृत्त सातदोबाटो र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा पनि निवेदन दिइसकेको छ । सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गा दाहालले बेपत्ता भएका व्यक्तिको सम्भावित स्थानमा खोजी भइरहेको बताएका छन् ।

परिवारका सदस्यहरूले निज महिलालाई खोजी गरिदिन अनुरोध गर्दै फोन नं पनि उपलब्ध गराएको छ । आफन्त तथा परिवारलाई मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन परिवारको अनुरोध छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ५ : ३६ बजे