बैशाख २६ गतेबाट हुने उच्च शिक्षाका परिक्षाबाट आन्दोलन सुरु गर्ने र परिक्षाको कपि नजाच्ने बताए
१६ बैशाख । राजधानीमा शिक्षकहरुले सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न चासो नदेखाएको भन्दै गम्भिर चासो व्यक्त गरेका छन् ।
ललितपुरको बालकुमारीमा शनिबारबाट सुरु माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)को सातौँ राष्ट्रिय महाधिवेशनमा बोल्ने बक्ताहरुले सरकारले संघीय शिक्षा ऐन ल्याएर शिक्षकहरुको उचित व्यवस्थापन नगरेको र धेरै शिक्षकहरुलाई सेवा सुविधिाबाट बञ्चित गरेको भन्दै विरोधका स्वर घन्काएका हुन् ।
नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले यही बैशाख २६ गतेबाट हुने उच्च शिक्षाका परिक्षाबाट आन्दोलन सुरु गर्ने र परिक्षाको कपि नजाच्ने बताए ।
उनले सबै शिक्षकहरु आन्दोलन गरेर सङ्घीय शिक्षा ऐन ल्याई माग पुरा गराउने उद्घोष गरे ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले आफूले सरकारको तर्फबाट मैले शिक्षकहरुको माग पुरा गर्ने भन्दै हस्ताक्षर गरेको तर कार्यान्वयनमा नआउँदा दुःख लागेको र शिक्षकहरुले उठाएकोे माग जायज र मार्मिक रहेको धारणा राखे ।
पूर्वशिक्षा मन्त्री देवेन्द्रराज पौडेलले आफू मन्त्री हुँदा चार पाँच पटक अर्थमन्त्रीलाई भेटेर शिक्षकहरुको समस्या समाधान गर्न पहल गरेको तर अर्थमन्त्रीले बजेट विनियोजन नगर्दा काम गर्न नसकेको भन्दै लाचारी प्रस्तुत गरेका थिए ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक काम गर्ने बताए
उनले शिक्षकको समस्या आफूहरुको पनि समस्या भएको र यसलाई सबै मिलेर सम्बोधन गर्नुपर्ने भन्दै कुटनीतिक जवाफ दिएका थिए ।
उनले शिक्षकसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुन ढिलो भएको बताए । उनले राज्यप्रति धेरै वितृष्णा र विद्रोह भाव नराख्न सुझाए ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शिक्षा ऐन संसद्मा प्राथमिकता दिएर पास गराउन लाग्ने बताए । उनले भने,‘सङ्घीय शिक्षा ऐन राज्यकै आवश्यकता हो ।’ उनले शिक्षक दरबन्दी कायम गर्न आफ्नोतर्फबाट प्रयत्न गर्ने बताए ।
हिस्टुनको सातौँ राष्ट्रिय महाधिवेशन भोलिसम्म ललितपुरमा चल्नेछ ।








प्रतिक्रिया