३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र ‘गोर्खा वारियर’को बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा विशेष प्रदर्शनी हुने



 

८असार । बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हुने भएको छ ।
निर्माता तथा निर्देशक मिलन चाम्सले आगामी भदौ २४ अर्थात् १० सेप्टेम्बरमा विशेष प्रदर्शनी तय गरिएको र सो प्रदर्शनीमा चलचित्रकर्मीसँगै धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई सहभागी हुनुहुने जानकारी दिएका छन् । नेपालका स्थानीय प्रतिनिधि चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता यो पहिलो हुनेछ ।

निर्माता तथा निर्देशक चाम्स धरान पुगेर प्रमुख राईलाई निम्तो दिएका छन् । “गोर्खालीको गौरव प्रस्तुत गर्ने चलचित्रको विशेष प्रदर्शनीमा सहभागी हुने र आफ्नो अभियानलाई साथ दिने बेलायतवासी नेपालीलाई भेटेर धन्यवाद दिन चाहेको प्रमुख राईले राख्नुभयो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा उपस्थितिबारे उहाँ जिज्ञासुसमेत हुनुभयोे”, निर्देशक चाम्सले भने ।

हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई विशेष प्रदर्शनीमा हिँडाउने तयारीमा रहेका निर्देशक चाम्सले उक्त चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी भइसकेको जानकारी दिए ।

“गोर्खालीको गौरव गाथालाई त्यहाँ देखाउन पाउँदा निकै उत्साहित छु, किनकि हाम्रो वीरताको कथा विश्वले देख्नेछ”, निर्देशक चाम्सले भने । उनले चाम्सले लन्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रदर्शनीमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिए ।

युद्धको कथामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।