१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘पशुपतिप्रसाद २ : भष्मे डन’लाई विश्वव्यापी रिलिज गरिँदै



२५ असार । ‘पशुपतिप्रसाद २ : भष्मे डन’लाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने भएको छ । निर्माण कम्पनी टुकी आर्ट्स र सेभेन सिजका प्रतिनिधिबीच सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापछि टुकी आर्ट्सले प्रेस वक्तव्य जारी गर्दै ‘भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुने जनाएको छ । वक्तव्यमा भनिएको छ, ‘यो कुराले समग्र नेपाली फिल्म उद्योगलाई नै माथि उठाउन राम्रो भूमिका खेल्ने कुरामा दुईमत छैन ।’

सम्झौताअनुसार सेभेन सिजले अमेरिकी चेनहरु रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिससहित केही स्वतन्त्र सिनेमा घरमा प्रदर्शन हुने जनाएको छ । अमेरिकामा मात्र १२ सय शो हुने उल्लेख छ । क्यानडामा १५० शो हुने जनाइएको छ ।

अष्ट्रेलियामा इभेन्ट, होइट्स, रिडिङ, रेगल, भिलेज, लाइम, युनाइटेड, ओडेन सिनेमा चेनमा ५०० शोसहित फिल्म प्रदर्शन गर्ने जनाइएको छ । मध्यपूर्वमा भक्स सिनेमा, स्टार सिनेमा, नोभा सिनेमा, रोयल सिनेमा र सिनेको सिनेमा चेनमा ७५० शो गर्ने तयारी भएको उल्लेख छ ।
मध्यपूर्वको निप फिल्म्स, अष्ट्रेलियाको जानवी इन्टरटेनमेन्ट र अमेरिकाको नेपाल एलेभन इन्टरटेनमेन्ट मिलेर सेभेन सिज कम्पनी स्थापना गरेका हुन् । कम्पनीले अबदेखि नेपाली फिल्मलाई विश्वव्यापी प्रदर्शन गर्नेदेखि नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा भूमिका खेल्ने लक्ष्य लिएको सेभेन सिजका रमेश ढकालले जानकारी गराए ।

यसबाहेक ‘भष्मे डन’लाई जापानको होक्काइदो, नारा र नागोयाको मीडल्याण्ड स्क्वायर सिनेमामा १०० शोसहित प्रदर्शनको तयारी भइरहेको जनाइएको छ । साथै भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा दशैंको फूलपातीको दिनमा फिल्म रिलिज गर्ने जनाइएको छ ।
‘पशुपतिप्रसाद २ : भष्मे डन’लाई दीपेन्द्र के खनालले निर्देशन र खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् । फिल्ममा विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ ।

 

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ९ : १९ बजे