७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा बन्ने भयो हर्बेरियम भवन



 

२५ असार । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले गोदावरी नगरपालिका ३ मा निर्माण हुन लागेको नयाँ हर्बेरियम भवनको शिलान्यास गरेका छन् । राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाअन्तर्गत अत्याधुनिक हर्बेरियम भवनको आज उनले शिलान्यास गरेका हुन् ।
वनमन्त्री महतोले तीनै तहका सरकार, वन विभागका कर्मचारी, विज्ञ र यस कार्यालयका प्रमुख र जनप्रतिनिधिहरूलाई गोदावरीमा भएका प्राकृतिक सम्पदा, स्रोत, वनस्पति उद्यान तथा शिलान्यास भएको हर्बेरियम भवनलाई व्यवस्थित गर्न निर्देशन दिए ।

मन्त्री महतोले भने, “नेपालका वनस्पतिको दीर्घकालीन संरक्षण तथा उपयोग गरी देश विकासको उच्चतम लक्ष्य प्राप्तिका लागि आवश्यक आधुनिक पूर्वाधारका रुपमा धेरै विज्ञहरुको अध्ययन, सोच, सपना, सुझाव तथा वनस्पति प्रेमीहरुको निरन्तर प्रयासहरुबाट यस भवनको निर्माण कार्य सुरु भएको र समयमै सम्पन्न हुने मैले विश्वास लिएको छु ।”

वनस्पति, वन तथा वातावरण क्षेत्रका दीर्घकालीन व्यवस्थापन, अर्थतन्त्र, निर्माण, रोजगार सृजना, पर्या–पर्यटन, कार्बन सञ्चित र जैविक विविधताजस्ता सेवाहरूलाई अभिवृद्धि गरी राष्ट्रिय समृद्धिका लागि लक्ष्यमा पुग्ने नीतिअनुरुप नेपाल सरकारले वनक्षेत्रलाई महत्त्वपूर्ण प्राकृतिक स्रोतका रुपमा लिएको छ ।

पूर्वमन्त्री एवं सांसद उदयशमशेर राणाले तीनै तहका सरकारले वनस्पतिको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उद्यानले वर्षको करोडौँ राजस्व सरकारलाई बुझाउँदै आएको उल्लेख गर्दै उनले वनस्पति, पर्यटक, प्रयोगशाला, अनुसन्धान सबै पहिलाको भन्दा अहिले विकास हुन नसकेको बताए ।

वनस्पति विभागका महानिर्देशक डा राजेन्द्र केसीले हर्बेरियम वनस्पतिका अभिलेख राख्ने र अनुसन्धान गर्ने कार्यालय नभई देशकै अमूल्य रत्नहरु भएको बताए । उनका अनुसार विश्वमा एक सय ८३ ओटा देशमा तीन हजार पाँच सय २२ ओटा हर्बेरियम रहेका छन् । नेपालमा त्रिभुवन विश्वविद्यालय र दोस्रो राष्ट्रिय हर्बेरियममा एक लाख ७० हजार प्रकारका विशिष्ट वनस्पतिहरु सङ्कलन गरी प्रयोगशालामा राखिएको उनले बताए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ४ : ४१ बजे