४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिवि राजनीतिशास्त्रको प्रश्नपत्र सार्वजनिक गरिएको भन्दै अख्तियारमा उजुरी दर्ता



साउन १४ । त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र विषयको एमफिल पिएचडी तथा एमए पहिलो र तेस्रो सेमेस्टरको प्रश्नपत्र परीक्षा हुनु एक साताअघि नै बाहिरिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । उजुरीको दर्ता नं. सी ००३९३७ रहेको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले सञ्चालन गर्ने अन्तिम तहको परीक्षा यही साउन १७ देखि शुरु भइ भदौको दोस्रो सातासम्म चल्ने कार्यक्रम छ ।

राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख सह प्राध्यापक डा. इश्वरी प्रसाद कडेल र प्रशासन प्रमुख हरेराम रिजालले प्रति विद्यार्थी रु. एक लाख लिइ एमफिल पिएचडी तथा स्नातकोत्तर तह पहिलो र तेस्रो सेमेस्टरको प्रश्नपत्र विद्यार्थीहरुलाई परीक्षा अगावै चुहावट गरेको हुँदा निजहरुलाई तत्काल पक्राउ गरी छानवीन गरी पाउ भनी उजुरीमा उल्लेख गरिएको छ ।

राजनीतिशास्त्र केन्द्रीय विभागमा एमए तेस्रो सेमेष्टरकी छात्रा प्रतिभा पौडेल बागलुङकै भएकाले गोल्डमेडलिष्ट बनाउने भनी विभागीय प्रमुखबाट प्रश्नपत्रको पूरै सेट साउन ११ गते उपलब्ध गराइसकेको उजुरीमा उल्लेख गरिएको छ ।

विभागीय प्रमुख कडेल र प्रशासन प्रमुख रिजालले विभागमै प्रश्नपत्र भण्डारन गरी सोको प्रति आफूहरुसँग राखी विद्यार्थीहरुसँग आर्थिक मोलमोलाइ गर्ने गरेको तथा यस कार्यमा सेटिङ मिलाइ मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन प्राध्यापक डा. ताराप्रसाद भुसाल आफू परीक्षा समितिको अध्यक्ष समेत भएकोले कोही कसैले केही गर्न नसक्ने भन्दै अख्तियार विपरीत प्रश्नपत्रको गोपनीयता उल्लंघन गर्ने कार्य गरेको हुँदा तत्काल निलम्बन गरी अनुसन्धान गरी पाउ भन्ने व्यहोरा उजुरीमा उल्लेख छ ।

रत्नराज्यलक्ष्मी क्याम्पसका विद्यार्थीहरुबाट प्रमुख आयुक्तलाई सम्बोधन गरी दर्ता गरिएको उजुरीमा तत्काल नयाँ प्रश्नपत्रहरुको सेट निर्माण गर्ने गराउने र भण्डारन गर्ने सम्बन्धमा सम्मानित आयोगबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई तत्कालै निर्देशन तथा यसअघि प्रश्नपत्र निर्माणमा संलग्न हुने विभागमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई प्रश्नपत्रको गोपनीयता उल्लंघन गरेकोमा कारवाही समेत गरी पाउ भनी उल्लेख छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ४ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।