१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महानगर’ एक रातको कथा



हामीले रातको दृश्यलाई सोही समयमा छायाङ्कन गरेका हौँ । रातभर छायाङ्कन गर्ने र दिनभर सुत्ने भएका थियौँ । यसले मलाई रातको संसारसँग परिचित गरायो

३१ साउन । नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) एक रातको कथामा आधारित छ ।
३७ रात छायाङ्कन गरिएको चलचित्रमा महानगर भित्रिनेको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरिएको छ । सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिएका छन् ।
राईले भने, “विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ । यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले चलचित्र तयार गरेँ । खासमा यो ‘ह्युमन कनेक्सन’ र ‘होप’ बारेको चलचित्र हो ।”

निर्देशक राईले उच्च शिक्षा हासिल गर्न तराईदेखि काठमाडौँ आएपछि जीवनशैली सोचभन्दा भिन्न तरिकाले अगाडि बढेको केही भोगाइलाई चलचित्रमा समावेश गरिएको बताए ।

 

विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ । यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ

“महानगरमा मेरा आफन्त थिएँ । तर समय अभावका कारण उनीमार्फत मार्गदर्शन नपाउँदा सपनाको सहरमा बस्नसमेत सकस भएको भयो किनकी हामीले बाहिरबाट महानगरलाई बुझ्न सक्दैनौँ । यस्तोमा दोष कसैको छैन किनकी यहाँ सबैको जीवन आफ्नै गतिमा अगाडि बढिरहेको छ”, निर्देशक राईले भने, “भौतिकरुपमा प्रगति हुँदै गर्दा देखिने दुई विभाजनलाई खुसी र आशिषको पात्रमार्फत व्यक्त गर्ने कोसिस गरेको छु । खुसी आफूलाई परिवर्तन गर्न सक्दिनन् भने आशिष सहरले उब्जाएको रहरमा आफूलाई भुलिसकेको छ । उनीहरूको एक रातको भेटको कथा चलचित्रमा छ ।”

चलचित्रमा खुसीको भूमिका निर्वाह गरेकी अभिनेत्री मेनुका प्रधानले रातको सुन्दरतालाई बुझ्न पाएको बताइन् । उनले भनिन्, “हामीले रातको दृश्यलाई सोही समयमा छायाङ्कन गरेका हौँ । रातभर छायाङ्कन गर्ने र दिनभर सुत्ने भएका थियौँ । यसले मलाई रातको संसारसँग परिचित गरायो ।”

उनले पात्रका केही स्वभाव आफूसँग मिल्ने भए पनि पूर्णरुपमा अलग रहेको जानकारी दिइन् । उनले भनिन, “खुसीमार्फत समाजलाई गहनरुपमा बुझ्ने मौका पाएँ ।” चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत सिर्जना गरेकी छिन् । चलचित्रले विभिन्न महोत्सवमा सहभागी भएर ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनलगायतका विधामा अवार्ड जितेको थियो ।

 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : १९ बजे