२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा जनै पनि आयात 



 

“आफ्नै हातले धागो सङ्ग्ल्याएर, कत्वामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो । भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन
मध्यविन्दु (नवलपरासी)
१३ भदौ । हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ । जुन विदेशबाट समेत आयात हुने गरेको छ ।
जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)कावासोती नगरपालिका ६ का खुमकान्त गौडेलले बताए । पाँच वर्ष अगाडिसम्म जनै बनाएर आफन्त सबैलाई पु¥याउँदै आएको भए पनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको गौडेलले बताए ।
“आजकालका युवाले नियमित जनै लगाउनै छाडे”, उनले भने, “पहिले घरमै धागो ल्याएर बाटोमा पनि बाट्दै हिँडिन्थ्यो, अहिले कसैलाई फुर्सद नै छैन ।”
गाउँमा अहिले जनै बाट्नै छाडिसकेको गौडेलले बताए । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उनले बताए । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा पाउन सकिन्छ । बजारमा मेसिनबाट बनाइएको जनै  प्रतिगोटा मूल्य रु छ र हातले बनाएको जनै प्रतिगोटा रु १५ रहेको गणेश धार्मिक पसलका नारायण खनालले बताए । “जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार पछिल्ला वर्षमा बढ्दो रहेको छ”, उनले भने, “अहिले बजारमा बुटवलबाट आयात गरिएको स्वदेशी उत्पादनदेखि भारतबाट आएका जनै र रक्षाबन्धन धागो आउने गरेको छ ।”
आजकालका युवाले नियमित जनै लगाउनै छाडे । पहिले घरमै धागो ल्याएर बाटोमा पनि बाट्दै हिँडिन्थ्यो, अहिले कसैलाई फुर्सद नै छैन ।
नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यता अनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि ठूलै हुने गरेको पाइन्छ । मङ्गलबार र बुधबार जनै किन्नेको ठूलै भीडभाड रहेको व्यवसायी खनालले बताए । विगतका वर्षमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिले एक महिनाअघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताए ।
“आफ्नै हातले धागो सङ्ग्ल्याएर, कत्वामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उनले भने, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन ।” पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वको रूपमा मनाइने जनैपूर्णिमाको महत्व नयाँ पुस्ताले बिर्संदै गएको पण्डित भण्डारीले गुनासो गरे ।
  “रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उनले भने, “आधुनिकताको नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।”
शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति) को दिनका रूपमा जनैपूर्णिमालाई लिइने भण्डारीले बताए । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँ ठाउँमा पुरोहितले विधि पु¥याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने उनले बताए ।
जनैपूर्णिमा (रक्षाबन्धन) का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ । “तागाधारीले कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नी, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ”, उनले भने, “हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोउच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।”

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।