१८ भदौ । काठमाडौंको सितापाइलास्थित अनुपम मलमा शुक्रबार नयाँ सिनेमा हलको उद्घाटन गरिएको छ । उक्त मलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानीमा सीके सिनेमाज् सञ्चालनमा आएको हो ।
सीके सिनेमाजको उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का संघीय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारी उपस्थित थिए ।
सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकका लागि मन्दिर भएको बताए । ‘सिनेमा हल कलाकारका लागि नभई सिनेमाप्रेमीका लागि खुसीको कुरा भएकाले शहरमा मात्रै होइन, गाउँगाउँमा सिनेमा हल खोल्नुपर्छ,’ अध्यक्ष केसीले भने, ‘सीके सिनेमाज् सञ्चालमा आउँदा सबै उत्साहित भएका छौँ ।’
यस्तै, काठमाडौं क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा सिनेमा हल सञ्चालन गरेकोमा सम्पूर्ण जनताको तर्फबाट सञ्चालकलाई धन्यवाद ज्ञापनसहित बधाई दिए ।
अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको उक्त सिनेमा हलमा ३ सय ९१ सिट क्षमता छ । करिब १२ करोड रुपैयाँको लगानीमा निर्माण भएको सिनेमा ७१ र डल्बी एटमोस साउन्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए । बिहीबार हल सञ्चालनको उपलक्ष्यमा सिनेमामा बलिउड सिनेमा पठान र नेपाली सिनेमा फूलबारी देखाइएको थियो । दुई पर्दा रहेको सीके सिनेमाज्मा शुक्रबारबाट नेपाली सिनेमा छड्के २ र छक्कापञ्जा ४ रिलिज गरिएको छ ।
प्रतिक्रिया