चलचित्र यसरी चल्नै नदिने अवस्था आउदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ
२४ भदौं । अभिनेत्री तथा चलचित्र निर्देशक झरना थापाले मध्यराती सामाजिक सञ्जालमा लेख्दै मर्नु न बाँच्नुको स्थितीमा पुगेको उल्येख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘चलचित्र यसरी चल्नै नदिने अवस्था आउदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ ।’
पछिल्लो समय चलचित्र ‘एक भागवत गिता’ को विवाद र चलचित्रको नाम परिवर्तन नगरे चल्नै नदिने भन्दै धार्मिक संस्थाहरुले विरोध गरेपछि निर्देशक थापा र उनको परिवार आजकल तनावमा छन् ।
आफूले् भगवान श्रीकृष्ण प्रतिको असिम आस्थालाई केन्द्रमा राखेर चलचित्रको नाम ‘एक भगवत गीता’ राखेको उल्येख गर्दै सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आंच आउने कर्म ऐलेसम्म कहिल्यै नगरेको उनको भनाई छ ।
चलचित्रको कथावस्तु सुनाएर, श्रीमद्भागवतगीताको अवहेलना नभएको स प्रमाण बताईरहदा पनि चलचित्रलाई सेन्सर अनुमति नदिएकोमा उनको चित्त दुखाई छ ।
यस चलचित्र उनका श्रीमान् सुनिलकुमार थापा निर्माता र छोरी सुहाना थापा अभिनेत्री रहेकी छिन् ।
यस्तो छ निर्देक झरना थापाको स्टाटस :
मध्यरातमा मैले आज यो लेखिरहदा खेरि धेरै जना निदाई सक्नुभएको होला, कति जना अझै निदाउनु भएको छैन होला । मान्छेलाई अत्यन्तै पीडावोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ जुन आज म महसुस गरिरहेको छु । प्रार्थना गर्छु, जो जति जना निदाउनु भएको छैन, हजुरहरु ननिदाउने कारण मेरो जस्तो नहोस ।
मैले मेरो जीवनको तीन दशक अनवरत रुपमा चलचित्र क्षेत्रमा दिएँ । प्रिय दर्शक हजुरहरुको मायाले म पर्दामा छाइरहें । मैले पनि दिनरात, झरीबादल, घर परिवार नभनी हजुरहरुलाई मनोरंजन दिन अथक काम गरिरहें । सम्पूर्ण नेपाली दर्शकहरुको माया र साथको कारणले म अभिनय हुदै निर्देशनमा आइपुगेको छु । म जहाँ छु, जे छु, जस्तो छु, म नेपाली जन र नेपाली मनको आशिर्वादले छु । यहि प्रेरणाले म मेरो अन्तिम साससम्म चलचित्रमै काम गर्छु भनेर हिंडीरहेकी छु । मेरो जिन्दगी भनेकै चलचित्र कर्म र दर्शक हरुको खुसी हो । त्यसबाहेक केहि छैन ।
मैले निरन्तर चलचित्र गरिरहेको छु र निर्देशकको रुपमा हजुरहरुको माया र स्नेह निरन्तर पाइरहेको छु । यहि क्रममा समाजको केहि यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौं । चलचित्रको कथावस्तु तथा मेरो भगवान श्रीकृष्ण प्रतिको असिम आस्थालाई केन्द्रमा राखेर चलचित्रको नाम ‘एक भगवत गीता’ राख्यौं । मैले मेरो जीवन भर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखन्ड़ता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आंच आउने कर्म ऐलेसम्म कहिल्यै गरेको छैन । हामीले एक भागवत गीता निर्माण पुरा गरेर अब हजुरहरुको हातमा सुम्पन तयार भैसकेपछि चलचित्रको नाम माथि प्रश्न उठाइयो । हामीले उठेका प्रश्नहरुको विनम्रतापुर्वक उत्तर दियौं । हामीले हाम्रो चलचित्रमा हिन्दु पवित्र ग्रन्थ श्रीमद्भागवतगीताको कुनै पनि अवहेलना गरेका छैनौ भनेर कथाको सार नै प्रस्तुत गर्यौं । चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौं । अझ चित्त नबुझे रिलिज पुर्व चलचित्र हेर्न पनि अनुरोध गर्यौं ।
प्रिय दर्शक बृन्द, मेरो आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद्भागवत गीता आफैमा मेरो चलचित्र कर्मको प्रेरणा हो । म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु । बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर, श्रीमद्भागवतगीताको अवहेलना नभएको स प्रमाण बताईरहदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिईएको छैन र निर्क्योल भोलि आइतबार गरिने भनेर भनिएको छ । आफ्ना सारा स्रोत सम्पति, सपना र ऐले सम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ । थाहा छैन हाम्रो चलचित्र हजुरहरुको आँखासम्म आउन् पाउछ कि पाउदैन । थाह छैन , प्रिय दर्शक हरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउछ कि पाउदैन । सत्य बोलिरहदा पनि, सहि छु भनेर दसी प्रमाण दिईरहदा पनि कसैले न सुनिदिएपछी अन्तिममा फैसला त भगवान ले गर्नु होला नि हैन ?
मैले मेरो फैसला मेरो भगवानको हातमा छोडीदिएको छु
प्रिय दर्शक हरु !!!!
भगवान श्री कृष्ण !!
हरे कृष्ण !!!
प्रतिक्रिया