२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बझाङ भूकम्पपछि एक जनाको मृत्यु, १३५ घर भत्किए



चैनपुर (बझाङ)
१७ असोज । बझाङमा भूकम्पपछि एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका ११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा जयपृथ्वी नगरपालिका ११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका ७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका ७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा ३ की १५ वर्षीया आँसु रोकाया, मष्टा १ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका ६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका ३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।