पाटन
२९ मङ्सिर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुर र महालक्ष्मी नगरपालिकाबीच सम्झौता भएको छ ।
अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन शुक्रबार सम्झौता भएको हो ।
अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गा उपलब्ध गराउन आज नगर कार्यपालिकामा सम्झौता भएको राष्ट्रियभूमि आयोग ललितपुरका संयोजक श्रीगोविन्द महर्जनले जानकारी दिएका छन् ।
“ललितपुरका ६ वटा स्थानीय तहमध्ये चार पालिकामा निस्सा वितरणको काम सम्पन्न हुने तयारीमा रहँदा हामीले महालक्ष्मी नगरपालिकासँग सम्झौता गर्न सफल भयौँ । महाकाल गाउँपालिकामा आगामी पुस २ गते निस्सा वितरण गर्ने तयारीमा छौँ । बागमती र कोञ्ज्योसोममा सो कार्य सम्पन्न भइसकेको छ । गोदावरीका केही ठाउँमा बाँकी छ । बाँकी ठाउँमा छिटोभन्दा छिटो निस्सा वितरण सम्पन्न गर्ने तयारीमा छौँ ।” संयोजक महर्जनले भने ।
पटक पटक ताकेता गर्दा पनि ललितपुर महानगरपालिकासँग अझै सम्झौता हुन नसकेकोमा उनले दुःख व्यक्त गरे । “हामीले ताकेता गरी नै रहेका छौँ, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हामीकहाँ सोध्न आइराख्नु भएको छ तर स्थानीय सरकारका हैसियतमा रहेको महानगरले सम्झौता गर्ने तत्परता देखाएको छैन ।” महर्जनले भने ।
भूमिआयोग ललितपुरका विज्ञ सदस्य प्रतीक तामाङका अनुसार सम्झौतासँगै वडा तहबाट लगत सङ्कलन गर्नका लागि सूचना प्रकाशन गर्न भूमि आयोगलाई बाटो खुलेको छ ।
“भूमि आयोगको केन्द्रीय कार्यालयले गोरखापत्रमा लगत सङ्कलनका लागि ३५ दिने सूचना प्रकाशित गर्छ । वडाले लगत सङ्कलन गर्छ, त्यसपछि तथ्याङ्क तयार गरेपछि निस्सा तयार हुन्छ ।” विज्ञ सदस्य तामाङले भने ।
आयोग ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार बागमती र कोन्ज्योसोम गाउँपालिकाका साथै गोदावरी नगरपालिका ३, ७, ९, १२ र १४ मा निस्सा वितरण भइसकेको छ । अब पुस २ गते महाकाल गाउँपालिकामा निस्सा वितरण गर्नेगरी तयारी भइरहेको छ ।
राष्ट्रियभूमि आयोग जिल्ला समिति ललितपुरले २०८० जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेर उपत्यकामै पहिलो पटक निस्सा वितरणको काम सुरु गरेको थियो ।
प्रतिक्रिया