काठमाडौँ
११ माघ । पछिल्लो समय नेपाली आकाशमा बादल देखिएको छ । मौसममा सामान्य बदली भइरहेको पछिल्ले अवस्था विश्लेषण गर्दै मौसमविद्हरुले छिटफुट बर्षाको सम्भावना औल्याएका छन् ।
आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना भने नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
काठमाडौँमा आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उनले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताए । उनका अनुसार काठमाडौँमा आज न्यूनतम तापक्रम तीन डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो ।
यसअघि गत सोमबार तीन दशमलव दुई डिग्री मापन गरिएकामा शून्य दशमलव दुई डिग्री झरेपछि आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिए । आज अधिकतम तापक्रम १६।६ डिग्री मापन गरिएको छ ।
आज सबैभन्दा कम तापक्रम जोमसोमको रहेको लामिछानेले बताए । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उनले बताए । यो समयमा चिसोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।








प्रतिक्रिया