ललितखबर
३ फागुन । राजधानीमा विहीबार सार्वजनिक चलचित्र ‘‘अगस्त्य’को टे«लर हेरेपछि सहभागी कलाकारहरु भावुक बने ।
चलचित्रको टे«लर सार्वजनिकपछि एक पछि अर्को कलाकारले चलचित्रको छायाँकनको क्रममा कष्टकर भूमिका निभाएको भनाई राखे ।
चलचित्रका अभिनेता नाजिर हुसेनले चलचित्रमा अभिनय गर्नैका लागि मोटाउन धेरै खानेकुरा खानु परेको अनुभव सुनाए । उनलाई चलचित्रको छायाँकनको क्रममा आफूलाई जण्डिस भएको थियो । उनले डाक्टरले एक महिना आराम गर्न दिएको सल्लाह नमान्दा अस्पताल नै भर्ना हुनुे परेको थियो।
चलचित्रका मुख्य भुमिकामा रहेका सौगात मल्लले पनि चलचित्रको छाँयाकनको क्रममा खुट्टाको छाला जाने गरेर पिच सडकमा दौडेको घटना सुनाए । अभिनेता मल्लले भारतको ४४ डिग्री गर्मीमा काम गर्दा धेरै गाह्रो भएको बताउछन् । छायाँकनको क्रममा सडकमा हिड्दा उनको खुट्टा सुन्निएको थियो ।
अभिनेता मल्ल ६ दिन डोरीमा झुण्डिएर सास्ती खेप्दै अभिनय गरेका थिए । ट्रेलर सार्वजनिकपछि उनले आफूले छायाँकनको क्रममा गरेको दुःख नभई इन्जोय(सुख अनुभव) गरेको बताए । भने, ‘अभिनयकै लागि सबै काम छोडेर आए पछि मलाई यस्ता काम दुःख हो जस्तो नै लाग्दैन ।’
अर्की अभिनेत्री सिम्रन खड्काले चलचित्रको छायाँकनको क्रममा सिनेमेट्रोग्राफर र निर्देशकको आँखामा आँसु देखेको बताइन् । अभिनेत्री मलिका महतले चलचित्रका कलाकारले धेरै दुःख गरेकै कारण चलचित्रको ट्रेलर उत्कृष्ट आएको दाबी गरिन् ।
चलचित्रका सिनेमेट्रोग्राफर सञ्जय लामाले करिअरकै धेरै दुःख गरेर चलचित्रमा काम गरेको बताए । चलचित्रका निर्देशक सौरभ चौधरीले चलचित्रका कलाकारले भयङ्कर दुःख पाएको अनुभव बाँडे ।
निर्देशक चौधरीले अभिनेत्री मलिका महतसमेत चलचित्र छायाँकनको क्रममा विरामी परेर भारतमा दुई रात उपचार गराउनु परेको जानकारी दिए ।
चलचित्रका कष्टकर र डरलाग्दा दृश्यको छायाँकनको क्रममा कलाकारहरुको विमा भने गरिएको थिएन । निर्देशक चौधरीले आगामी चलचित्रमा कलाकारहरुको जोखिम विमा गर्ने आश्वासन समेत दिएका छन् ।
द्वन्द्वप्रधान चलचित्रमा अभिनेता सौगात मल्लको दोहोर भूमिका रहेको ट्रेलरमा देखिन्छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रमा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता, तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् ।
चलचित्रमा सञ्जय लामाको छायाङ्कन, मनोज श्रेष्ठको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत, सुप्रिम पराजुलीको कलर छ ।
यो चलचित्र फागुनको १८ गते नेपालसँगै विश्वभरबाट रिलिज हुनेछ । चलचित्र अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा प्रर्दशन हुनेछ ।
प्रतिक्रिया