६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्दै



२० वैशाख । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने घोषणा गरिएको छ ।
सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको चलचित्र मैथिली भाषामा तयार गरेर नेपाली र भोजपुरी भाषामा स्वराङ्कन गरिने निर्देशक पुर्णेन्दु के झाले जानकारी दिए ।

उनले चलचित्रमा विदेशिन बाध्य नेपाली र विदेशिन बाध्य बनाइने नेपालीको कथा रहेकाले श्रमिक दिवसकै अवसर पारेर निर्माण घोषणा गरिएको बताए ।

यस अगाडि नेपाली भाषामा ‘संरक्षण’ र ‘चौका दाउ’ जस्ता चलचित्र निर्देशन गरिसकेका झाले मैथिली भाषामा बन्ने चलचित्रको स्तरीयता र नयाँ पन महसुुस हुने गरी ‘लेबर’ लाई निर्देशन गरेर तयार गरिने बताए । “हामी नेपाली चलचित्रको बजार विदेशमा खोजिरहेका छौँ । तर, हामीले स्वदेशमै भएको बजारलाई बलियो बनाउने र विस्तार गर्नेतर्फ पनि ध्यान दिनु आवश्यक छ । यो नेपालभर प्रदर्शन हुने चलचित्र बन्नेछ”, निर्देशक झाले भने ।

कार्यक्रममा उपस्थित पूर्वराजदूत डा सूर्यनाथ मिश्रले यो विषय गम्भीर भएको र प्रवासमा रोजगारीको लागि पुग्नेको प्रत्यक्ष सरोकारको विषयमा चलचित्र बन्न लागेको बताए ।

कार्यक्रममा निर्माण समूहलाई शुभकामना दिँदै राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मैथिली चलचित्रको क्षेत्रमा आधुनिक यात्रा प्रारम्भको विन्दु यो चलचित्र हुन सक्ने सम्भावना रहेको बताए ।

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्रालिको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धीरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माताको रुपमा छन् । निर्देशक झासँगै नरेश मिश्राले लेखेको चलचित्रमा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकारले अभिनय गर्दै छन्।

चलचित्रमा प्रवेश मल्लिकले सङ्गीत तथा पाश्र्वसङ्गीत सिर्जना, हिमाल केसीले द्वन्द्व निर्देशन, आलोक शुक्लले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, मल्लाज अडियो वर्कसले ध्वनि मिश्रण तथा मुद्रण, अक्की थेक्पाले कला निर्देशन गर्दै छन्। चलचित्र ‘लेबर’ यसै वर्ष पुससम्ममा प्रदर्शन गरिने बताईएको छ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ५ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।