४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग सर्वोच्च अदालतले बयान लिने



काठमाडौँ
२० वैशाख । सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिने भएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको आजको संयुक्त इजलासले अनलाइनका प्रकाशक युवराज कँडेलसँग बयान लिएपछि अडियो उपलब्ध गराउने तिमिल्सिनालाई पनि सबुद प्रमाणसहित यही वैशाख २३ गते बयानका लागि बोलाउन आदेश गरेको हो ।
आदेशमा भनिएको छ, “प्रसारित अडियोसामग्री सम्बन्धमा अदालतको अवहेलनामा किन कारवाही र सजाय गर्नुनपर्ने हो । त्यसरी कारवाही गर्नुनपर्ने आधार र कारण भए शब्द प्रमाणसहित बयानका लागि मिति २०८१ वैशाख २३ गते बिहान १० बजे अदालतमा उपस्थित हुनु ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसँग जोडिएको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित बैठक बसेको भन्दै सिधाकुरा डटकमले केही दिनअघि समाचार र अडियोसामग्री प्रकाशन गरेको थियो ।
सो विषयमा सो अनलाइनका प्रकाशक कँडेलसँग बयान लिने काम आज सम्पन्न भएको छ भने सम्पादक नवीन ढुङ्गानालाई शुक्रबार १० बजे बयानका बोलाइएको छ ।

अनलाइनले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो–भिडियोसामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै यही वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेश गरेका थिए ।
सोहीआधारमा यही वैशाख १७ गते न्यायाधीश नहकूल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सोसामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ३ : ५४ बजे