काठमाडौँ
२९ वैशाख । चलचित्र ‘महाजात्रा’ प्रदर्शनको आजसम्म निरन्तर ५१ औं दिनसम्म प्रर्दशन भएको छ । षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’ झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गर्दैछ ।
अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको ‘महाजात्रा’ ले आज शनिवार काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगञ्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गरेकोे हो ।
गत वर्ष विसं २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरू गरिएको ‘महाजात्रा’ ले अहिलेको समयमा समेत ५१ औँ दिनको यात्रा तय गर्नु सम्पूर्ण चलचित्र उद्योगकै लागि खुसीको खबर रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।
‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोषालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ । षट्कोण आर्ट्समार्फत हामी आगामी दिनमा पनि स–परिवार एकसाथ हेर्न मिल्ने चलचित्र ल्याउने छौँ’, निर्माता खत्रीले भने ।
उनले अन्तर्राष्ट्रियबजार बलियो बनाउनुका साथै चलचित्रको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको समेत बताए । अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले डायस्पोरामा चलचित्रको खडेरी हटाउन सफल भएको जनाएको छन् । उक्त कम्पनिका अनुसार सिड्नीमा ३५ भन्दा बढी शो भईसकेको छ । यो अहिलेसम्मको सिड्नीमा कुनै नेपाली चलचित्रको भएको सर्वाधिक शो हो ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ चलचित्र दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।
प्रतिक्रिया