ललितखबर
५ जेठ । चलचित्र ‘आचार्य’ असार ७ गतेदेखि पुनः प्रर्दशन हुने भएको छ ।
वरिष्ठ संगीतकार, गायक भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित बायोपिक चलचित्र आचार्य १३ बर्षअघि देशभरका चलचित्र भवनहरुमा प्रर्दशन गरिएको थियो ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रमा अभिनय समेत गरेका गायक स्वरुपराज आचार्यले त्यसताका चलचित्रले ज्यादै न्युन व्यापार गरेको सम्झिए । उनले भने, ‘भन्नै अप्ठ्यारो लाग्ने रकम चलचित्रले व्यापार गरेको थियो । निर्माता रोसन राईले बृद्धाश्रममा दानदक्षिणा स्वरुप हस्तान्तरण गरेका थिए ।’
उनले नेपाली चलचित्रको व्यापार ज्यादै खराव रहेको अवस्थामा चलचित्र प्रर्दशन भएको भन्दै निराशा व्यक्त गरे । चलचित्र लुटपछि मात्रै चलचित्रले व्यापार गर्न थालेको र त्यसताका गुण्डागर्दी चलचित्रको प्रभाव रहेको उनको भनाई थियो ।
त्यसबेला चलचित्रमा करिव सवा दुई करोड लगानी भएको आचार्य बताउछन् । उनका अनुसार त्यसबेलाको सर्वाधिक राशीको चलचित्र रहेको थियो । चलचित्रको पोष्ट प्रडक्सनका धेरै काम भारतमा गरिएको थियो । पाकिस्तानका गायक गुलामअलिले समेत चलचित्रमा अभिनय गरेका थिए ।
चलचित्रमा आचार्यको भूमिका उनकै जेठा छोरा तथा गायक सत्यराजले निर्वाह गरेका छन् ।
चलचित्रको निर्देशन प्रशान्त रसाइलीले गरेका छन् । चलचित्रमा गायक सत्यसँगै कलाकारहरु सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्लको अभिनय छ ।
चलचित्रका गायक भक्तराजका जीवित बेला र मृत्यु भइसकेपछिका केही सिनहरु थप भएको बताइएको छ ।
निर्माता रोसन राईले गलत समयमा प्रर्दशन भएको अनुभव भएकाले पुनः निर्माण गरेर चलचित्रको फेरि प्रर्दशनको चाँजो मिलाइएको बताए । धेरैले चलचित्र हेर्न नपाएको गुनासो आफूले सुनेको उनको भनाई छ ।
गायक आचार्यमाथि २०४६ सालमा केही व्यक्तिले आक्रमण गरेपछि जिब्रोमा घाउ लागेको अवस्थामा क्यान्सर देखिएको थियो । उनको जीब्रो क्यान्सर सरिरमा फैलने डर भएपछि काटिएको थियो । उनी ३५ बर्ष दुध मात्रै खाएर बाँचेका थिए । दुध बाहेक अन्य खानेकुरा चह्रयाउने हुँदा खुवाइएको थिए ।
केही साताअघि स्वास्थ्यमा खराबी आएपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
आउँदो साता ट्रेलर प्रशारणमा ल्याइनेछ । असार ५ गते राजधानीमा प्रिमियर शोको आयोजना गरिएको छ ।
चलचित्र नेपालसँगै विभिन्न देशमा समेत प्रर्दशन गर्ने योजना निर्माता रोसन राईले बताए ।
कार्यक्रममा संगीतकार लक्षण शेष, चेतन सापकोटा, बसन्त सापकोटा लगायत सहभागि थिए । चलचित्रको नेपालमा ब्यांकटेस र विदेशमा सेभेन सिजले प्रदर्शन गर्न लागेका हुन् ।
पुनः सम्पादन गरेर चलचित्र प्रदर्शन गर्न लागिएको हो । चलचित्रमा यसपटक आफूहरुले दर्शकलाई पूर्णरुपमा बायोपिक देखाउन खोजेको अभिनेता सत्यराजले बताए ।
प्रतिक्रिया