काठमाडौँ
७ जेठ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ ।
चलचित्र ‘आचार्य’ भजन गायक स्व. भक्तराजको कथामा छोरा सत्यराज आचार्यले अभिनय गरेका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गायक सत्यराज आचार्यले स्वर्गीय वावुको आग्रहपछि अभिनय गरेको बताए । चलचित्रका निर्देशक प्रशान्त रसाइलीले कथा सुनाउने क्रममा अरु नै कलाकारलाई सो भूमिका दिन चाहेका थिए । तर गीत संगीतमा ज्ञान भएको व्यक्तिले मात्रै सो भूमिका निभाउन सक्ने भन्दै छोरा सत्यराजलाई रोजेपछि उनले चलचित्रमा भूमिका निभाएको रहस्य खोले ।
उनले भने, ‘वुवाकोजस्तो गीत गाउन र संगीत बुझ्ने कलाकार असम्भवप्राय रहेको कारण मैले अभिनय गरे । मेरो संगीत प्रतिको ज्ञान लगाव,स्वर र अभिनयप्रतिको रुचिको कारण वुवाले मलाई नै अभिनय गर्न लगाउनु भएको हो ।’
स्व गायक आचार्यका छोरा सत्यराज आचार्यले चलचित्रलाई आगामी असार ७ गतेदेखि नेपालभर प्रदर्शन गरिने जानकारी दिएका छन् ।
“यो चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए । अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ”, गायक तथा अभिनेता आचार्यले भने ।
चलचित्रमा स्व गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उनले बताए । उनले भने, “यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो । हामीले नयाँ चलचित्रझैँ यसको प्रदर्शन गर्दैछौँ । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ ।”
स्वर्गीय आचार्यका छोरा गायक स्वरूपराज आचार्यले १३ वर्षअघिको समय चलचित्र प्रदर्शनका लागि सही समय नभएको बताए । उनले भने, “त्यस समयमा दर्शकको रोजाइमा परम्परागत चलचित्र पथ्र्यो । त्यो समय सही थिएन कि भन्ने हामीलाई लागिरहेको थियो । हामीले गत वर्ष केही शो गर्दा पनि यसलाई पुनः प्रदर्शन गर्न आग्रह गरिएको थियो । त्यसकारण पुनः प्रदर्शनको तयारी गरेका हौँ ।”
निर्देशक प्रशान्त रसाइलीले निर्देशन गरेको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई पुनः सम्पादन गरी प्रदर्शन गरिनेछ । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।
प्रतिक्रिया