काठमाडौँ
१८ जेठ । मकवानपुरको चित्लाङबाट चलचित्र ‘ज्वाइँ साब’को छायांकन सुरु गरिएको छ ।
बसन्त निरौलाको निर्देशनमा बन्न लागेको चलचित्र ‘ज्वाइँ साब’को शुक्रबार बिहानस्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै चलचित्रको छायांकन थालिएको हो ।
निर्माण पक्षका अनुसार चित्लाङमा २० दिनको छायांकन गरिने भएको छ । त्यसपछि बाँकी छायांकनका लागि निर्माण टिम सौराहा र इलाम जाने तयारीमा छ ।
फिल्ममा हास्य अभिनेता जीतु नेपाल र अभिनेत्री नीति शाहको जोडी बाँधिएको छ । अभिनयको हिसाबले नीतिको यो दोस्रो चलचित्र हो । चलचित्रमा रमेश वुढाथोकी, प्रकाश घिमिरे, वुद्दि तामाङ, हिमेश पन्त, निमा पाण्डे लगायतको पनि अभिनय रहनेछ ।
चलचित्रमा जीतु ज्वाइँको भूमिकामा देखिनेछन् । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको चलचित्रको छायाँकार श्याम तामाङ हुन् ।
राज कुमार पण्डित प्रस्तुतकर्ता रहेको ‘ज्वाइँ साब’मा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ निर्मातामा छन् । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन छ ।
चलचित्रलाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए । चलचित्र यसै वर्षको तिहारमा प्रर्दशन हुने बताइएको छ ।
प्रतिक्रिया