१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सिनेमाण्डुमा महिला चलचित्रकर्मीको संख्या न्युन



काठमाडौँ
१९ जेठ । सिनेमाण्डुमा महिला चलचित्रकर्मीको सङ्ख्या भने कम छ । विशेष गरी चलचित्र निर्देशक, निर्मातासँगै प्राविधिकको सङ्ख्या कम रहेको यस क्षेत्रमा क्रियाशील महिला चलचित्रकर्मीहरूले नै बताउने गरेका छन् । महिलाले कमै मात्रामा नेतृत्वदायी भूमिका पाएका पनि उनीहरूको भनाइ छ । यस्तै विषयमा काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा छलफल भयो ।

‘वुमन बिहाइन्ड द क्यामेरा’ शीर्षकमा निर्देशक आकाङ्क्षा कार्की, विदुषी गिरी, सरिता शाह र डिना मुफ्टीले यस विषयमा छलफल गरे । निर्देशक तथा अभिनेत्री शाहले आफूले महिलाको पात्र वा विषयमा अनुभव थप्ने बताइन् । उनले भनिन्,“म जे अनुभूत गर्छु त्यो भोगाइ र अनुभूति कोही अरुले गर्दा धेरै कुरा छुट्न सक्छ । त्यही कुरा मैले बढी प्रष्टसँग भनेर न्याय गर्न सक्छुजस्तो लाग्छ । मैले थप्ने भनेको त्यही छुटेका कुराहरू हो ।”

अभिनेत्री तथा निर्देशक कार्कीले महिलाले बढी संवेदनशील र स्वभावका साथ कथाहरु भन्ने गरेको बताइन् । “स–साना कुरालाई प्राथमिकता दिने स्वभावले चलचित्रलाई फरक बनाउन सक्छ । व्यक्तिपिच्छे नै सोच र प्रस्तुतिकरण फरक हुन्छ तर महिलाले स–साना भावनालाई प्रस्तुत गरिरहेका हुन्छन्”, अभिनेत्री कार्कीले भनिन् । छलफलमा सहभागी निर्देशक गिरीले अहिले महिलाको उपस्थिति आत्मनिर्भर चलचित्र (इन्डिपेन्डेड फिल्म) मा रहेको बताइन् । ठूला चलचित्रमा उपस्थिति विस्तारै बढिरहेको प्रसङ्ग उनले जोइन् ।

अर्का वक्ता मुफ्टीले पर्दापछाडि काम गर्ने महिला चलचित्रकर्मीको सङ्ख्या बढाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन्,“प्राविधिकरूपमा दक्ष महिलाको उपस्थिति बढाउन अझै बढी काम गर्नुपर्छ । अहिले आकर्षण अभिनयमा देखिएको छ । बलियोरूपमा आफूलाई प्रस्तुत गर्न सके विस्तारै त्यो प्ूरा हुन्छ तर अहिले पनि महिलालाई नेतृत्वदायी भूमिकामा विश्वास गरेको कमै पाइन्छ ।”

निर्देशक गिरीले पनि महिला चलचित्रकर्मीले विश्वास बढाउन आफ्नो दक्षता बढाउनुपर्नेमा जोड दिइन् । “महिलाको नेतृत्व क्षमता र सक्षमतामा शङ्का गर्नु नै सबैभन्दा ठूलो समस्या हो। महिला नेतृत्व पनि उत्तिकै शक्तिशाली हुन्छ भन्ने कुरा स्वीकार्न जरुरी छ”, निर्देशक गिरीले भनिन् ।

‘परिवर्तनको प्रतिध्वनि’ नारा दिइएको महोत्सवमा २२ देशका ६० भन्दा बढी चलचित्र सहभागी छन् । गत जेठ १८ मा सुरु भएको महोत्सव प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ २० गतेसम्म चल्नेछ ।
पछिल्लो समय नेपाली चलचित्र विदेशमा समेत एकसाथ प्रदर्शन हुन थालेका छन् । प्रविधिले दिएको सुविधाका कारण नेपालबाटै विश्वका जुनसुकै स्थानमा चलचित्र प्रदर्शन गर्न सकिन्छ । यसले नेपाली चलचित्रको व्यापार बढ्दै छ भने कथ्य शैलीसँगै निर्माणमा समेत परिवर्तन आएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।