काठमाडौँ
१ भदौ । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’को ७७औँ संस्करणमा पुरस्कार (अवार्ड) जित्न सफल भएको छ ।
उक्त चलचित्रमा अभिनय गरेकी अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ पुरस्कार जितेकी हुन् ।
अभिनेत्री ल्हामोले ‘उत्कृष्ट अभिनय प्रस्तुति’ विधामा जितेको पुरस्कारले नेपालका प्रतिभाशाली र उदीयमान कलाकारलाई प्रेरणा प्रदान गर्ने निर्देशक भामले बताएका छन् । उनले भने, “यस महोत्सवको महत्वपूर्ण पुरस्कारमध्येको एक नेपाली कलाकारले पाउनुले विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिन्छ ।” ्
उनले यो सफलता नेपालका चलचित्रकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल तथा ऊर्जाशील महिला र विश्व समुदायप्रति समर्पण गर्न चाहेको बताए ।
नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेत्री ल्हामोसँगै सोनम तोप्द्न, तेञ्जिङ डल्हाल, कार्म शाक्यलगायत कलाकारले अभिनय गरेका छन् । उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमान्ले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथालाई निर्देशक भामले लेखक अविनाश विक्रम शाहसँग मिलेर लेखेका हुन् । यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको छ ।
डोल्पाको चार हजार दुई सयदेखि छ हजारसम्मको उचाइमा छायाङ्कन गरिएको उक्त चलचित्रले गत साउन २३ देखि आजसम्म चल्ने महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रको ‘पियाजा ग्राण्डे’ विधामा प्रतिष्पर्धा गरिरहेको छ ।
प्रतिक्रिया