५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने



काठमाडौँ
चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले वसन्ती, बलिदान, दक्षिणा, बसाइँ, वीर गणेशमानलगायतका चलचित्रलाई आगामी पुस्तासम्म पु¥याउन हालको प्रविधिमा रुपान्तरण गरी ‘अर्काइभ’ गरिने बताएका छन् ।
“हामीले दर्शकले रुचाउनुका साथै विभिन्न कालखण्डलाई दर्शाउने चलचित्रलाई पुरानो प्रविधिबाट रुपान्तरण गरेर नयाँ प्रविधिमा ढाल्न चाहेका छौँ । यसको काम केही समयमा सुरू हुनेछ । यी चलचित्रलाई बोर्डको विशेष समारोहमासमेत देखाइने छ”, अध्यक्ष डिसीले भने ।
यसअगाडि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’ र ‘शान्तिदीप’लाई ‘डिजिटाइजेसन’ गरिसकेको जनाएको छ । साथै ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सबटाइटल’ पनि गरिएको छ ।
‘रिस्टोरेसन’ गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत ‘ड्यामेज’लाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइने र त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिने बोर्डले जनाएको छ । पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका चलचित्रलाई ‘डिजिटाइजेसन’ गरिएको छ । ‘डिजिटाइजेसन’ पश्चात १६ एमएम र ३५ एमएमका ती चलचित्रलाई ‘टु के’ र ‘फोर के’ ढाँचामा हेर्न सकिने बताइएको छ ।
“डिजिटाइजेसनसँगै ती चलचित्रको प्रिन्ट रिस्टोरेसन गरेर राखिएको छ । यसले ‘एट के’ वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिन्छ”, अध्यक्ष डिसीले भने ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।