काठमाडौं
चलचित्र ‘लाज शरणम्’को रोचक पोस्टर तीन सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक भएसँगै चलचित्रको कथा र विषयबस्तु रोचक रहेको छनक मिलेको छ ।
निर्माण पक्षले सार्वजनिक गरेको तीन वटै पोस्टरमा नयाँपन भेटिन्छ । पोस्टरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् ।
पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेको दृश्यले चलचित्र रोचक रहेको अनुमान गर्न सकिन्छ ।
दोस्रो पोस्टरमा एक अपरिचित कलाकारको हातमा तराजु छ । उनी कफिनमाथि उभिएका छन् भने तराजुमा यार्सा र सुनको विस्कुट जोखिरहेको देखिन्छ । पृष्ठभूमिमा हिमाल र बस्तीसँगै मान्छेहरुको लस्कर देखिन्छ । चलचित्रमा यार्सा टिप्नेहरुको पैसाको लडाईको विषय बस्तु रहेको अनुमान गर्न सकिन्छ । पृष्ठभूमिमा त्रिसुल र महादेवको आकृतीले चलचित्रमा राम्रो भिएफएक्स समेटिएको हुनसक्छ ।
अर्को पोस्टरमा हरिष र विजय छन् । हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शङ्ख फुकिरहेको देखिन्छ । पोस्टरले चलचित्रको विषयबस्तु झन् रोचक रहेको बुझ्न कठीन पर्दैन ।
गम्भीर विषयलाई हास्य कलाकारहरुले रमाइलो तरिकाले प्रस्तुत गरेको हुनसक्ने पोस्टरले संकेत गरेको छ । पोस्टरले चलचित्रप्रतिको कौतुहलता बढाइदिएको छ ।
चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदै छ । नेपालबाहिर भने आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गर्ने निर्माण पक्षको योजना छ ।
चलचित्रलाई कुमार कट्टेल (जिग्री ब्रो’ले निर्देशन गरेका छन् ।
चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् ।
चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।








प्रतिक्रिया