१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कार्साङ’को ट्रेलर २४ घण्टामै युट्युव ट्रेन्डिङको दुई नम्बरमा



दर्शकले देखाउनु भएको यो माया र अपेक्षा पूरा हुनेगरी हामीले चलचित्र बनाएका छौँ

काठमाडौं

चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ट्रेलर मुभी सेक्सनको दुई नम्बरमा छ ।

एक नम्बरमा सलमान खानको सिकन्दरको टिजर छ । ‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ । वर्षकै राम्रो ट्रेलर भन्दै सिनेमाले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया युट्युबमा आइरहेको छ ।

दया र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने बताइरहेका छन् ।

ट्रेलरले पाएको यो माया चलचित्रले पनि पाउने अपेक्षा चलचित्र निर्माणपक्षको छ । “यही तहको माया हामीले सिनेमा हलमा दर्शकबाट पनि अपेक्षा गरेका छौँ,” निर्देशक यम शेर्पाले भने, “दर्शकले देखाउनु भएको यो माया र अपेक्षा पूरा हुनेगरी हामीले चलचित्र बनाएका छौँ ।”

चलचित्र ‘कार्साङ’को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ ।

अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा ट्रेलरमा देख्न सकिन्छ ।

पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।