२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘भूठान’ समिक्षा : चलचित्रमार्फत क्रिश्चियन धर्म संस्कृतीको प्रबद्र्धन



ललितखबर

लामो समयदेखि हामीले भुटानी शरणार्थी समस्या सुन्दै आएका छौं । अमेरिका,अष्ट्रेलियालगायत देशहरुमा पुर्नबासपछि विस्तारै बर्सदै गएको सन्दर्भमा शुक्रबारबाट चलचित्र भवनहरुमा सोही विषयबस्तु समेटिएको भूठान प्रर्दशन गरिएको छ ।
कथासार

भूटानी राष्ट्रिय फुटवल टिमका कम्तान हुन् विष्णु बहादुर केसी । उनी भुटानबाट खेदिएर नेपाल शरणार्थी बन्न आए । अनि अमेरिकी सरकारले नागरिक स्वीकार गरेर उनी अमेरिका पुगें । उनी जीवनको अन्तिम समयमा पर्यटक भएर भए पनि आफू जन्मेको देश भुटान जान चाहन्छन् । आफू बाँचेको माटो हेर्न चाहन्छन् । त्यहाँको माटोमा लडिबुडि गर्न चाहन्छन् । तर जति एम्बेसी धाए पनि भिषा पाउदैनन् ।

अमेरिकामा बुढ्यौली जीवन बिताइरहेको एउटा नेपालीभाषी भुटनिजको कथाव्यथा हो भूठान । चलचित्रभित्र उराठलाग्दो अमेरिकी निरस जीन्दगीको विविध पाटोलाई देखाइएको छ ।

चलचित्र भूठान संसारभरका फरक दर्शकका लागि निर्माण गरेको बुझ्न गाह्रो पर्दैन । राज्यबाट पिल्सिएका संसारभरका अनागरिकहरुको लागि भूठान एउटा प्ररणा दिने चलचित्र भन्न सक्छ ।

चलचित्रभित्र शरणार्थी जीवनपछि अमेरिकी वैभव भोग्न आधुनिक जीवन सुरु गरेका नेपालीहरुको चालचलन संस्कृती र भाषा मासिदै गएको तथ्य देखाइएको छ ।

सुन्दर पक्ष
निर्देशक पौडेलले दृश्यमार्फत कथा भन्न खोजेका छन् । संवादको बोलवालाभन्दा पनि दृश्यमार्फत चलचित्रलाई लयबद्ध गर्ने कोसिस गरेका छन् ।

चलचित्रमा दुई पक्ष तर विपरित कुरालाई चलचित्रमा कलात्मक पारामा देखाइएको छ । विष्णु बहादुरको मन भूटानमा छ । तन अमेरिकामा । उनको दुई श्रीमती छन् । सँगै बस्नेले झपारेको सुनिन्छ । सँगै नबस्नेसँग मायाँ गहिरो छ । उनीसँग हिन्दु धर्मको राम्रो प्रभाव छ तर रोग निको हुने विश्वासमा क्रिश्चियन बन्नु पर्ने बाध्यता अंगालेका छन् ।

प्रभावशाली पार्शसंगीतले चलचित्रको प्राण भरेको छ । कलकल बग्ने खोला, रेलको छुकछुक, चराचुरुंगी अनि कागको आवाजले चलचित्रलाई मौलिक बनाउन सघाएको छ ।

एक बुढ्यौली वयमा बाँचेको मान्छेको मनोदशा निर्देशक पौडेलले पात्र विष्णुबहादुरको मनोभावमार्फत गज्जवसँग भनेका छन् । आफ्नी आमा गुमाउदाको क्षणलाई विष्णुबहादुरले गुजारेको क्षण दर्शकको आँखामा आँशु ल्याउछ ।

हेर्दा चलचित्रले एउटा मात्रै कुरा भन्न खोजेको छैन । भूटानी शरणार्थीको पिडा एकातिर देखाएको छ भने अमेरिका पुगेका नेपालीहरुमा गाँजेको आधुनिक जीवनशैलीलाई स्प्रष्टसँग देखाएको छ । नेपालीभाषीहरुको परम्परागत धार्मिक परम्परा मासिएको दृश्य पनि चलचित्रमा देखाइएको छ । छोरा र छोरीहरुबीच भएको भेदभावलाई पनि पर्दामा उतारिएको छ ।

चलचित्रमा हिरोहिरोइनको रोमान्स,डाँडापाखामा नाचेको, गुण्डाहरुसँगको मारकाट छैन । दक्षिण भारत र बलिउड अनि कतिपय नेपाली चलचित्रजस्तो लाग्दैन । कलात्मक चेत भएका दर्शकका लागि यो चलचित्र राम्रो लाग्न सक्छ ।

कमजोरी
चलचित्र भूठानले शरणार्थी समस्यालाई गहिरो गरेर उठाउन सकेको छैन । कथा र प्रस्तुती सतही छ । छोरा छोरीको भेदभाव, धर्मान्तरको समस्याका कारण नेपाली जनजीवनमा पारेको प्रभाव, नेपाली नयाँ पुस्तालाई अमेरिकी संस्कृतीले पारेको प्रभाव र समलिंगीका विषयजस्ता धेरै कुरा चलचित्रमा घुसाउदा दर्शक रनभुल्लमा पर्छन् । पात्र थोरै छन् । उनीहरु थोरै भूमिका दिइएको छ । कतिपय कुरा दिमाग लगाएर बुझ्नुपर्छ । समस्या र विषयवस्तुलाई निर्देशक विनोद पौडेलले भनेका छैनन् ।

चलचित्रमा पात्रमार्फत लैगिक भेदभाव र समभावलाई छुवाएका मात्रै छन् । नेपाली नेपालीबीच विचारको विविधता देखाएर अलपत्र छोडेका छन् । नेपालीहरुले अमेरिकामा पनि आफ्नो संस्कृती र परम्परा धानिरहेको दृश्य एकातिर राखेका छन् भने कृश्चियन धर्म र संस्कृतीलाई चलचित्रमा विशेष जोड दिइएको छ ।

चलचित्रमा हरिवंश आचार्यमार्फत पात्रले क्रिश्चियन धर्म संस्कृती अंगालेको देखाइएको छ तर स्प्रष्ट पृष्टिभूमि र कारणको दृश्यमार्फत व्याख्या गरेका छैनन । चलचित्रमा क्रिश्चियन धर्म संस्कृतीको प्रबद्र्धन हुने किसिमले प्रस्तुत गरिनु र महत्व दिएर भूल गरेका छन् । चलचित्रमा गाई मारेको दृश्य राखिएको राखिएको छ । जुन दृश्यसँग दर्शक असहमत हुन सक्छन् ।

धेरै ठाँउमा अंग्रेजी संवाद छन् । कतिपय दर्शकलाई अंग्रजी संवाद र अभिनयले नतान्न सक्छ । कथाभित्र चरित्र र परिस्थितीजन्य द्वन्द्व श्रृजना गरिएको छैन । चलचित्र धिमा गतिमा अघि बढ्दा ठाँउ ठाँउमा अल्छी लाग्छ ।

चलचित्रको दृश्यमा चुम्बन र नाङ्गो शरिरको दृश्य अनावश्यक लाग्छ । हुन त अमेरिकी जीवनमा यस्ता दृश्य सामान्य रहेको तर्कसहित समावेश गरिएको पनि हुनसक्छ तर चलचित्रमा ती दृश्य राख्नुको तुक देखिन्न ।

 

हरिबंश आचार्य ‘विष्णु बहादुर केसी’


हास्य कलाकारको छवि बनाएर दर्शकहरुको मन मनमा बसेका हरिबंश आचार्य चलचित्र भूठानमा फरक पात्रको रुपमा प्रस्तुत भएका छन् । उनले मनमा पिडा नै पिडा बोकेर अमेरिकी बैवभमा दुःखी पात्र विष्णु बहादुर केसीको भूमिका निभाएका छन् । हरिवंशको चलचित्र भनेर हलमा प्रवेश गर्ने कतिपय दर्शकका लागि उनको अभिनय अनौठो र आचार्य हुनसक्छ । उनले हसाउदैनन् । उवाउने दृश्य पनि छैन । दर्शकलाई गम्भिर बनेर सोच्न भने बाध्य बनाएका छन् । यद्यपी उनको अभिनय राम्रो नै छ ।
ऋचा घिमिरे


ऋचा घिमिरेले बुहारीको भूमिकामा छिन् । एकदमै छोटो भूमिका भएकाले हुनसक्छ चलचित्रमा उनको अभिनयको प्रभाव छैन । तर विदेशमा बसेकी महिलाको मनोभाव चलचित्र देखाउन सफल छिन् ।

पुजा चन्द ‘लक्ष्मी’


विष्णु बहादुरकी श्रीमतीको भूमिकामा पुजा पनि छोटो दृश्यमा देखिन्छिन् । उनको अभिनयको खासै प्रभाव छैन ।

ब्रुस डन


चर्चित अमेरिकी अभिनेता ब्रुस डनले स्वभाविक अमेरिकी जीवनशैली झल्काउने स्वभाविक अभिनय चलचित्रमा देखिन्छ । चलचित्र हेरिरहँदा स्वयम् अमेरिका पुगेको भाव झल्कन्छ । उनको जीवन्त अभिनयले चलचित्रको कथा भन्न धेरै हदसम्म सहयोग गरेको छ ।

प्रविधि

चलचित्रमा उल्येखनिय प्रविधिको प्रयोग छैन । संगीतको प्रभाव न्युन छ । द्वन्द्वको दृश्य छैन । अध्यारो रंगको प्रयोग ज्यादा छ । पार्श संगीतले कलात्मक चलचित्रको भाव प्रकट गरेको छ । साउण्ड सिङ्कका कारण ठाँउ ठाँउमा राम्रो आवाज सुनिन्न । यद्यपी प्राकृतिक आवाज मन पराउनेहरुका लागि राम्रै लाग्न सक्छ ।

अन्तमा,
चलचित्र भूठान संसारभरका दर्शकका लागि देशविहीन हुनुपर्दाको पिडा कस्तो हुन्छ भन्ने दर्शाउन योग्य छ । नेपाली दर्शकका लागि फरक स्वादको चलचित्र लागे पनि यो विश्वभरका आममान्छेका लागि योग्य चलचित्र निर्माण गरिएको छ ।

पछिल्लो पुस्ताका दर्शकले विभिन्न फरक चलचित्र हेर्न पाइरहेका छन् । व्यावसायिक रुपमा सफल असफल जे भए पनि नेपाली चलचित्रको दायरा चाही फराकिलो बनेको मात्रै छैन विश्व बजारमा पुग्ने भूठानजस्ता चलचित्र आवश्यक छ । जसले चलचित्रका दर्शक बढाउन भूमिका खेलेको होस् ।

यद्यपी निर्देशक पौडेलले चलचित्रको कथामा ज्यादा मेहनत गरेको भए राम्रो हुन्थ्यो । पात्रहरुको मनोदशालाई प्रष्टसँग राख्न, कथाको घुम्तीहरु घटाउन जरुरी थियो ।

नेपाली चलचित्रका निर्देशकहरु फरक खाले कथा भन्न सिपालु छन् । तर उनीहरु निर्माताको खल्तीको पैसा झिक्न लगाएर मनको कुण्ठा चलचित्रमार्फत व्यक्त गर्छन् । निर्देशकहरु चलचित्रलाई नितान्त व्यावसायिक वस्तु बनाउन भुल्छन् । दर्शकको ढुकढुकीको ताल बुझेर चलचित्र बनाउन नसक्ने निर्देशकको कमजोरी हो । निर्देशकमा व्यावसायिक चेत छैन भन्दा फरक पर्दैन ।

 

 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।